News Portal

प्रदेश सरकारलाई खोप खरिदको अनुमति दिन मन्त्री राईको आग्रह

रातोपोस्ट संवाददाता
३४९ पटक

मोरङ, २६ जेठ । प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले कोरोना भाइरसविरुद्धको खोप खरिदका लागि संघीय सरकारसँग अनुमति दिन माग गरेकी छन्। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको भर्चुअल छलफलका क्रममा मन्त्री राईले संघीय सरकारले यथाशीघ्र खोपको प्रवन्ध गर्नुपर्ने र गर्न नसकेको खण्डमा प्रदेशलाई खरिदको अनुमति दिनपर्नेमा जोड दिइन्।

छलफलका क्रममा मन्त्री राईले कोरोना संक्रमण नियन्त्रणका लागि खोप नै महत्वपूर्ण रहेकाले संघीय सरकारलाई प्रवन्ध गर्न आग्रह गरिन्। कोरोनाको तेस्रो लहर सुरु हुने विज्ञहरुले बताइरहँदा आवश्यक तयारी गर्नुपर्नेमा जोड दिँदै मन्त्री राईले महामारी नियन्त्रणका लागि पूर्वतयारी आवश्यक रहेको बताइन्। कोरोना संक्रमण नियन्त्रणमा प्रदेश सरकार प्रयासरत रहेको बताउँदै उनले सरकारी अस्पतालमा जनशक्तिको अभाव रहेको हुँदा परिपूर्तिमा पनि स्वास्थ्य मन्त्रालयको ध्यान जान आवश्यक रहेको स्मरण गराएकी थिइन्।

छलफलमा मन्त्री राईले सबै स्थानीय सरकारको बजेट केन्द्रिकृत गरी पूर्ण व्यवस्थित र विकसित अस्पताल निर्माणमा लागिपरेको दावी गरिन्। विपन्न नागरिकको स्वास्थ्य उपचारलाई केन्द्रित गरी विपन्न स्वास्थ्य कार्यक्रम ल्याउने योजनामा प्रदेश सरकार लागिपरेको उनले बताइन्। भर्चुअल छलफलमा स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङ, सात वटा प्रदेशका सामाजिक विकास मन्त्री तथा मन्त्रालयका सचिव लगायतको सहभागिता रहेको थियो।

प्रतिकृया दिनुहोस्