News Portal

गौरादह नगरपालिकामा राप्रपाले बुझायो ज्ञापनपत्र

रातोपोस्ट संवाददाता
५३५ पटक

झापा, २७ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले विभिन्न माग राख्दै बिहिबार गौरादह नगरपालिकाका प्रमुख रोहितकुमार साहलाई ज्ञापनपत्र बुझाएको छ । राप्रपा गौरादहले गतवर्षको राहत वितरणमा खरिद गरिएको र दाताबाट प्राप्त खाद्यान्न तथा जिन्सी सामग्रीको लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै १२ बुदे ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्रमा समसामयिक विषयमा ध्यानाकर्षण गराएको जनाइएको छ । ‘ज्ञापनपत्रमा भनिएको छ, ‘गौरादहमा राप्रपा बलियो प्रतिपक्षीको भुमिका खेल्न तैयार छ र कुनैपनी भ्रष्टाचार र अनियमिताको हामी सशक्त प्रतिवाद गर्नेछौं।’ ज्ञापनपत्रमा कोभिड १९ का बिरामीलाई हस्पिटल सम्म लैजान र ल्याउनको लागि उचित निशुल्क व्यवस्थापन गर्नुपर्ने, संक्रमित र होम आइसोलेसनमा रहेका बिरामीलाई पोसिलो खानेकुरा र औषधिको प्रवन्ध गरिनुपर्ने माग गरिएको छ ।

त्यस्तै दैनिक ज्याला मजदुरी गर्नेहरूलाई राहत वितरण गर्न भनिएको छ । राहत सामाग्री गोदाम मै कुहिएको विषयमा स्वतन्त्र छानबिन समिति गठन गर्नुपर्ने माग यथावत रहेकोले यसबारे तत्काल कदम चाल्न माग गरिएको छ । निषेधाज्ञाको समयमा चुलो नबलिरहेको अवस्थामा पनि ठुलो परिमाणको खाद्यान्न डिस्पोज गरेको नगरपालिकाले चित्तबुझ्दो जवाफ भने नदिएको आरोप लगाइएको छ ।

राहत सामाग्री अखाद्य भई डम्पिङ गरेको विषयमा गौरादह नगरपालिकाका जनप्रतिनिधिले जनतालाई मुर्खको संज्ञा दिई सञ्चारकर्मी र नागरिक समाज प्रती अशोभनीय व्यवहार प्रस्तुत गरिएको भन्दै यस बिषयमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । ज्ञापनपत्रमा राजनितिक सरोकार र दलिय छलफलमा राप्रपालाई निमन्त्रणा नै नगर्ने नगरपालिकाको बिभेदकारी कार्यशैली प्रती पार्टी अत्यन्तै गम्भीर रहेको उल्लेख गरिएको छ ।

ज्ञापनपत्र ग्रहण गर्दै नगरप्रमुख रोहित कुमार साहले समसामयिक विषयमा ध्यानाकर्षण गराइएकोमा राप्रपा नगरसमितिलाई धन्यवाद दिदै भने , ‘तपाईंहरुले राख्नुभएको माग कार्यपालिका बैठकमा पेश गर्नेछु, सबै माग सम्बोधन गर्नको लागि प्रयास गरिने छ ।’

प्रतिकृया दिनुहोस्