News Portal

कांग्रेस महाधिवेशन भदौ तेस्रो साता

रातोपोस्ट संवाददाता
२९६ पटक

काठमाडौं, २८ जेठ । नेपाली कांग्रेसले महाधिवेशन पूर्वनिर्धारित मिति फेरि परिमार्जन गर्ने भएको छ । कांग्रेसले पार्टीको १४औं महाधिवेशन पूर्वनिर्धारित मितिलाई पार्टी केन्द्रीय समितिबाट सामान्य हेरफेर गर्दै दुई साता सार्ने तयारी गरेको हो । यसअघि, ६ फागुन २०७७ मा संशोधन गरेको कार्यतालिका अनुसार कांग्रेसले केन्द्रीय समितिबाट ७–१० भदौ २०७८ का लागि महाधिवेशन तोकेको थियो ।

उच्च स्रोतका अनुसार कांग्रेसले वडादेखि केन्द्रसम्मको अधिवेशनका पूर्वनिर्धारित मिति फेरबदल गर्नेगरी तयारी गरिरहेको छ । कांग्रेसले संविधान अनुसार पनि महाधिवेशन भदौभित्र नगरे वैधानिक्ता गुम्ने अवस्था छ । कांग्रेसले कोरोना महामारीका कारण महाधिवेशनलाई स्वास्थ्य मापदण्ड पालना गर्नेगरी र यसअघि हुने भन्दा प्रक्रियामा विकल्प खोजेर गर्ने भएको हो । त्यो वैकल्पिक प्रक्रिया ‘के हो ?’ खुलाइएको छैन ।

स्रोतका अनुसार महाधिवेशन कार्यतालिका सामान्य संशोधनका लागि पहिले पदाधिकारी बैठक बस्ने र त्यसपछि केन्द्रीय समिति बैठकले कार्यतालिका संशोधन गर्ने कांग्रेसको तयारी छ । ‘सभापतिले पनि भनि सक्नु भयो, महाधिवेशन भदौभित्रै हुन्छ, तर पूर्वनिर्धारित मिति केही पर सर्छ, त्यो भनेको भदौ तेस्रो साता हो,’ उच्च स्रोतले भन्यो । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रतिकृया दिनुहोस्