News Portal

झापामा बाढीको जोखिम : विपद् व्यवस्थापनको पूर्व तयारीमा जुट्दै स्थानीय सरकार

रातोपोस्ट संवाददाता
२८४ पटक

झापा, १ जेठ । कोरोना महामारीका सामना गरिरहेका झापाका स्थानीय तहले बाढीका कारण उत्पन्न हुन सक्ने विपद् व्यवस्थापनको पूर्व तयारीमा जुटेका छन् । मनसुनी वर्षा सुरु भएसँगै झापाका अधिकांश स्थानीय तह डुबान र कटानको चपेटामा पर्ने भएकाले क्षति न्यूनीकरण र रोकथामका लागि आवश्यक स्रोत साधनको व्यवस्थापनमा लागिसकेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्लिसिनाले बताए । जिल्लामा कनकाई, विरिङ, रतुवा, कमल, निन्दा, मेचीलगायत २८ वटा साना ठुला नदीहरू रहेका छन् । हिउँदमा साना देखिए पनि वर्षा याममा बाढी आउँदा यी नदीबाट विगतमा ठुलो धनजनको क्षति हुँदै आएको छ ।

बाढी र कटानबाट हुन सक्ने धनजनको क्षति न्यूनीकरणका लागि स्थानीय तहहरूलाई पर्याप्त स्रोत साधनको व्यवस्था गर्न, त्यस क्षेत्रका बासिन्दालाई उद्धार गरेर सुरक्षित बास स्थानलगायत आवश्यक सुरक्षा सामग्रीको व्यवस्था गर्न आग्रह गरिसकेको प्रजिअ तिम्लिसिनाले बताए।

जिल्लाको उत्तरी क्षेत्रभन्दा दक्षिणी क्षेत्रमा बढी डुबान र कटान हुने गरेको नेपाल रेडक्रस सोसाइटी झापा शाखाका सभापति लोकराज ढकालले बताए । उनले विगतमा झैँ यस वर्ष पनि झापा, गौरीगञ्ज, कचनकवल र बाह्रदशी गाउँपालिकामा पानीको निकास हुने ठाउँ नहुँदा बढी डुबानको जोखिममा रहेको बताए । उनका अनुसार कमल, विरिङ र रतुवा खोलाले शिवसताक्षी नगरपालिका र कमल गाउँपालिकाका विभिन्न स्थानमा कटान गरी सयौँ परिवार विस्थापित हुने अवस्था छ । रेडक्रसले बाढी पूर्व तयारी प्रतिकार्य योजना बारे स्थानीय तहरुलाई जानकारी गराउने तयारी गरेको छ ।

सभापति ढकालले जिल्लामा बाढी आएको खण्डमा प्रभावित क्षेत्रका बासिन्दालाई जानकारी दिनका लागि चार प्रकारले पूर्व सूचना प्रणालीको व्यवस्था गरिएको जानकारी दिए। उनले बाढी आउनुभन्दा ६८, ४८, २४ र तीन घण्टा अगाडि नै सो क्षेत्रका बासिन्दालाई जानकारी दिइने गरेको बताए । तीन घण्टा अघि दिइने सूचनापछि सम्बन्धित क्षेत्रका बासिन्दालाई स्थानीय तहहरूले स्थापना गरेका सुरक्षित स्थानहरू, विद्यालय, रेडक्रस भवन तथा सार्वजनिक भवनहरूमा सारिन्छ ।

कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्ले बाढी प्रभावित क्षेत्रहरूमा रु २० लाख बजेट नै छुट्टाएर काम भइरहेको बताए । उनले गाउँपालिकाका वडा नम्बर १,२,३ कमल खोलामा आउने बाढीका कारण डुबानमा पर्ने र वडा नम्बर ५,६,७ मा रतुवा खोलाले कटान गर्ने हुँदा आवश्यक तयारीमा जुटेको बताए । उनले जनताको तटबन्धले कमल र रतुवा खोलाका केही स्थानमा बाँध बाँध्ने काम भइरहेको जानकारी दिए। “खोला पस्ने स्थानहरूको पहिचान गरेर बाँसको टाटीद्वारा वैकल्पिक बाँध बाँध्ने काम विभिन्न वडाहरूले गरिरहेका छन्”, अध्यक्ष काफ्लेले भने, “प्रभावित क्षेत्रमा जोखिम न्यूनीकरणका लागि आवश्यक पहल गरिरहेका छौँ ।”

त्यसैगरी, गौरीगञ्ज गाउँपालिकाले नदीमा पानीको बहाव बढेसँगै विभिन्न वडाहरू डुबानमा पर्ने हुँदा स्थानीयवासीको उद्धारका लागि आवश्यक सुरक्षा सामग्री रबर बोर्ट र लाइफ ज्याकेटको समेत व्यवस्था गरिसकेको जनाएको छ ।

प्रतिकृया दिनुहोस्