News Portal

मुख्यमन्त्री पोखरेलद्वारा राजीनामा, नयाँ सरकार गठनका लागि आज दाबी पेस

यमलाल भुसाल
३८२ पटक

बुटवल, २८ साउन । विगत ४ महिनादेखि अल्पमतको सरकारको नेतृत्व गरेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बुधबार पदबाट राजीनामा दिएपछि लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले बहुमतको नयाँ सरकार गठनका लागि आह्वान गरेका छन ।

प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ (२) अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेशसभा सदस्यलाई साउन २८ गते दिउँसो ३ बजेसम्मभित्र बहुमतको सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेका हुन । आफूविरुद्ध प्रदेशसभामा दायर भएको अविश्वास प्रस्तावको सामना नगरी मुख्यमन्त्री पोखरेलले दिउँसो सवा १ वजे प्रदेश प्रमुख अमिक शेरचनलाई राजीनामा बुझाएका हुन । एमाले नेता पोखरेल तत्कालीन प्रदेश ५ को मुख्यमन्त्रीमा २०७४ फागुन ३ गते पहिलोपटक मुख्यमन्त्री नियुक्त भएका थिए ।

प्रदेशसभामा हाल ८० जना सांसद बहाल रहेकोमा बहुमतका लागि ४१ सिट आवश्यक हुन्छ । तर, सत्तारूढ दल एमालेसँग अहिले ३८ सांसद मात्रै छन् । विपक्षी गठवन्धनसँग कांग्रेसका १९, सभामुखबाहेक माओवादीका १८, जसपाका ३ र जनमोर्चाका १ गरी ४१ सांसद रहेका छन् । एमाले र माओवादी केन्द्रबीच चुनावी गठबन्धनबाट पोखरेल दाङ २ (१) बाट प्रदेश सभा सदस्य निर्वाचित भएका हुन ।

लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशनमा सत्तापक्षका सांसद अनुपस्थित भएका छन् । बुधबारको विशेष अधिवेशनमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावलाई टेवल गर्ने कार्यसूची रहेको थियो । तर, मुख्यमन्त्री पोखरेलले प्रदेशसभाको बैठकमा नआई प्रदेश प्रमुखकहाँ पुगेर पदबाट राजीनामा दिएका थिए ।

प्रतिकृया दिनुहोस्