News Portal

शहिद परिवारलाई माओवादीले दियो घर

रातोपोस्ट संवाददाता
३०८७ पटक

झापा, २९ साउन । जनयुद्धका बेला सहादत प्राप्त गरेका जनमुक्ति सेनाका शहिद परिवारलाई नेकपा माओवादी ( केन्द्र) ले घर बनाइ दिएको छ । जनयुद्धका क्रममा ज्यान गुमाएका तात्कालिन अर्जुनधारा गाविस वडा नम्बर ५, रातेखालका गणेश लम्सालको परिवारलाई झापा क्षेत्र नम्बर १ का संघीय सांसद राम कार्कीको पहलमा घर निर्माण गरी हस्तान्तरण गरिएको हो ।

स्वर्गीय लम्सालकी श्रीमती मैया लम्साललाई उनी बस्तै आएकोे मेचीनगर ११, धाइजन स्थित तित्री डागी गाउँमा तीन कोठे घर निर्माण गरी हस्तान्तरण गरिएकोे छ । शुक्रबार एक कार्यक्रमका बीच नेकपा माओवादी (केन्द्र) का जिल्ला सचिवालय सदस्य प्रकाश भण्डारी ‘संजोग’ तथा पार्टीका नगर संयोजक पुष्प गुरागाईंलगायतको उपस्थितिमा निर्माण सम्पन्न भएको घर शहिद परिवारसमक्ष हस्तान्तरण गरिएको हो ।

हस्तान्तरण कार्यक्रममा बोल्दैै प्रमुख अतिथि सचिवालय सदस्य भण्डारीले माओवादी पार्टीमा पहिले देखिएको विश्वासलाई कायम गर्न आम कार्यकर्ता तथा शुभेच्छुकहरुको घर/ घरमा पुगेर पार्टीको गतिविधिहरु सञ्चालन गर्न आवश्यक रहेको बताए । उनले आगामी निर्वाचनमा जनताको मन जित्दै फेरि एक पटक माओवादी देशकै पहिलो पार्टी बन्ने दाबी गरे ।

विशेष अतिथि नगर संयोजक गुरागाईंले एमाले पार्टीका केही मानिसहरुको अवरोधका बापजुत पनि घर निर्माण हुनु माओवादीको जित भएको बताए । निर्माण समितिका संयोजक डेकनाथ पौडेलका अनुसार घर निर्माणमा करिब ६ लाख रकम खर्च भएको छ । जसमा संघीय सांसद कार्कीको सांसद विकास कोषअन्तर्गत रहेको ‘आवाज विहीनका लागि आवास’ कार्यक्रममार्फत ३ लाख ४५ हजार रकम उपलब्ध भएको थियो । बाँकी रकम पार्टीका कार्यकर्ताबाट श्रमदान तथा सहयोगबाट जुटाइएको पौडेलले बताए ।

शहिद परिवारको तर्फबाट श्रीमती लम्सालले आफ्नो श्रीमान् देश र जनताका लागि लड्दा शहिद भएको बताउँदै पार्टीले अहिले आएर उहाँको मूल्यांकन गर्दै परिवारलाई राहत प्रदान गरेकोमा सिंगो पार्टीलाई धन्यवाद ज्ञापन गरिन् । कार्यक्रममा प्रमुख अतिथि भण्डारी, विशेष अतिथि नगर संयोजक गुरागाईं, पार्टी जिल्ला सदस्य शिवु बुढाथोकी, नगर संयोजन समिति सदस्य राजु दाहाल, ज्ञानेन्द्र घिमिरे, राजन चिमरीया, वाइसीएल वडा अध्यक्ष दिपक राई, पार्टीका केन्द्रीय सल्लाहकार सदस्य मुकुलचन्द्र राजवंशी, वडा नम्बर १० का अध्यक्ष कृष्णकौशल सिटौलालगायतको उपस्थिति रहेको थियो ।

पार्टीका वडा सह–इन्चार्ज कबिलाल मेचेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत पार्टीका वडा इन्चार्ज शान्तिराम चिमोरिया तथा सञ्चालन पार्टीका वडा अध्यक्ष रामकुमार रिजालले गरेका थिए ।

स्वर्गीय लम्सालको माओवादी जनयुद्धका क्रममा जनमुक्ति सेना र तात्कालिन शाही सेनासँगको दोहोर भिडन्तमा परी २०६१ साल फागुन २ गते मोरंगको जातेमा ज्यान गुमेको थियो । उनका एक छोरा रहेका छन् ।

प्रतिकृया दिनुहोस्