News Portal

पूर्वसांसद भागवत ज्ञवालीको निधन

रातोपोस्ट संवाददाता
७८९ पटक

पाल्पा। पूर्वसांसद भागवत ज्ञवालीको ७६ वर्षको उमेरमा मंगलबार निधन भएको छ । ज्ञवालीको उपचारको क्रममा काठमाडौंमा निधन भएको हो ।

छाती, फोक्सो र पिसाबमा समस्या देखिएका ज्ञवालीको नेपाल र भारतका विभिन्न अस्पतालमा उपचार भइरहेको थियो ।

२०४८ सालमा गुल्मी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका ज्ञवाली नेपाली कांग्रेस गुल्मीको पहिलो सभापतिसमेत हुन् । ज्ञवालीले २०४८ सालमा एमालेका प्रभावशाली नेता जीवराज आश्रितलाई पराजित गरेका हुन् ।

आश्रित गुल्मी क्षेत्र नम्बर १ हरेवाका बासिन्दा भए पनि क्षेत्र नम्बर २ बाट निर्वाचन लडेका थिए ।

त्यस्तै २०५१ सालको निर्वाचनमा ज्ञवाली एमाले उम्मेदवार कमल श्रेष्ठसँग पराजित भएका थिए । त्यसपछि भने उनी कहिल्यै चुनाव लडेनन्।

राजनीतिक साथै शैक्षिक व्यक्तित्व एवं समाजसेवीका रुपमा परिचित ज्ञवाली लामो समयदेखि पाल्पाको तानसेनमा बस्दै आएका थिए।

उनका श्रीतमी, दुई छोरा र तीन छोरी छन्।  प्रजातान्त्रिक आन्दोलनमा योगदान पुर्‍याएका ज्ञवालीले बिपी कोइरालासँगै काम गरेको थिए।

प्रतिकृया दिनुहोस्