News Portal

  • पूर्वाञ्चल दैनिकको रजत महोत्सवमा सयौं सम्मानित

    रातोपोस्ट संवाददाता
    ५२७ पटक

    झापा । प्रदेश नम्बर १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले पञ्चायती व्यवस्थाको अन्त्य गर्न सञ्चार क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गर्दै लोकतन्त्रको रक्षार्थ पनि सदैव क्रियाशील हुन आग्रह गरेका छन् ।

    झापाकाे बिर्तामोडबाट प्रकाशित हुने पूर्वाञ्चल दैनिकको रजत महोत्सव समारोहमा प्रमुख अतिथि रहेका प्रदेश प्रमुख प्यासीले पत्रकारिता पेशा आफैंमा कठिन हुने बताउँदै सफल पत्रकारिताका लागि सम्प्रेषण, व्यवस्थापन, सम्पादन, वितरण सबै पक्षको सन्तुलन हुनुपर्ने आवश्यकता पनि बोध गराएका छन् ।

    प्रदेश प्रमुख प्यासीले जस्तोसुकै कठिन परिस्थितिमा पनि सञ्चार जगतले लोकतन्त्र र मानवअधिकारको पक्षमा खबरदारी गरिरहेको बताए ।

    पूर्वाञ्चल दैनिक २५ वर्षमा प्रवेश गरेको अवसरमा प्रकाशित विशेषाङ्कको समेत लोकार्पण गरिएको कार्यक्रममा पूर्वाञ्चल दैनिक मदन ढकाल स्मृति पत्रकारिता पुरस्कार–२०७५ बाट अग्रज पत्रकार नकुल काजी र चन्द्र भण्डारी तथा पूर्वाञ्चल दैनिक मदन ढकाल स्मृति पत्रकारिता पुरस्कार–२०७६ बाट चिन्तामणि दाहाल र लीला बराललाई पुरस्कृत गरिएको थियो । पुरस्कारको राशी जनही १५ हजार रुपैयाँ रहेको छ ।

    यो वर्ष पूर्वाञ्चल दैनिकका उत्कृष्ट पत्रकारको सम्मान डेस्क सम्पादक लक्ष्मण ढकाललाई दिइएको छ । ढकाललाई प्रदान गरिएको उत्कृष्ट पत्रकार पुरस्कारको राशी ११ हजार रुपैयाँ रहेको छ ।

    यसरी नै चन्द्रकान्त ढकाललाई उत्कृष्ट व्यवस्थापक सम्मान, विष्णुप्रसाद खरेललाई उत्कृष्ट स्तम्भकार सम्मान, प्राज्ञ पवन राजवंशीलाई उत्कृष्ट व्यङ्ग चित्रकार सम्मान र कमलप्रसाद पाण्डे ‘विनोद’लाई उत्कृष्ट फोटो पत्रकार सम्मान प्रदान गरिएको छ ।

    पूर्वाञ्चल दैनिकका प्रकाशक भरतलाल गिरीले स्वागत मन्तव्य राख्दै पत्रिकालाई जनअपेक्षा अनुरुप समयसापेक्ष रुपमा परिवर्तन गर्दै लैजाने बताए । कार्यक्रममा एभरेष्ट स्मार्ट एकाडेमी बुट्टाबारी र बिर्तामोडस्थित न्यूटन्स एजुकेशन एकाडेमी, महेन्द्ररत्न मावि, चिल्ड्रेन इन्भारोमेन्ट स्कूल र बाल्मिकी एजुकेशन फाउण्डेशनका विद्यार्थीले नृत्य प्रस्तुत गरेका थिए ।

    कार्यक्रमको सञ्चालन डेस्क सम्पादक लक्ष्मण ढकाल, सम्पादक एकराज गिरी र सहसम्पादक सुरेन्द्र भण्डारीले संयुक्त रुपमा गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)