News Portal

काँकरभिट्टा बसपार्कमा यात्रु सहायता कक्ष

रातोपोस्ट संवाददाता
५० पटक

झापा, १५ असोज । नजिकिँदै गरेको बडादसैं, तिहार र छठ चाडपर्वलाई लक्षित गरेर यात्रुलाई सहज र सुरक्षित यात्राका लागि झापाको पूर्वी सिमावर्ती सहर काँकरभिट्टाको बसपार्कमा यात्रु सहायता कक्ष (हेल्प डेक्स) स्थापना गरिएको छ । मंगलबार उक्त स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । समस्यामा परेका यात्रु, चालक तथा सहचालक सबैले प्रारम्भिक जानकारी गराउने ठाउँ यात्रु सहायता कक्ष हो ।

जिल्ला प्रहरी कार्यालय झापा, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय काँकरभिट्टा, मातहतका प्रहरी कार्यालय तथा यातायात व्यवसाय संस्था समेतको समन्वय र सहकार्यमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको हो । यात्रु सहायता कक्षको उद्घाटन झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले गरेका थिए । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी नायव निरीक्षक पूर्ण गौतमका अनुसार मेचीनगर–६ स्थित काँकरभिट्टा बस टर्मिनलबाट विभिन्न स्थानका लागि लामो तथा छोटो दूरीका सवारी साधान छुट्ने गर्छन् ।

यात्राको क्रममा कुनै प्रकारको असहज महसुस भएमा र सामान छुटेमा नजिकैको यात्रु सहायता कक्षमा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ । यात्रु सहायता कक्षको शुभारम्भ गर्दै झापाका प्रमुख जिल्ला अधिकारी बाँस्तोलाले यात्रुहरुलाई ठगीबाट बच्न यसले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्दै हरेक स्थानको भाडा दर र समय तालिका यात्रु सहायता कक्षमा अनिवार्य राख्न निर्देशन दिएका थिए ।

कार्यक्रमको अध्यक्षता गर्दै जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मिलन केसीले दसैँ–तिहार र छठमा अभियानका साथ विशेष सुरक्षा योजना सुरु गरेको बताए । साथै, चाडपर्वलाई लक्षित गरी जिल्लामा एकीकृत सुरक्षा योजना अन्तर्गत नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागबाट पनि जिल्लाका विभिन्न स्थान तथा राजमार्गमा सुरक्षा गस्तीहरू बढाइएको बताइएको छ । यातायात व्यवस्था कार्यालय झापाका प्रमुख प्रेमप्रसाद सापकोटाले सबैले आआफ्नो क्षेत्रबाट जिम्मेवारी पुरा गर्दा सवारी दुर्घटना न्यूनिकरण हुनसक्ने बताए ।

कार्यक्रममा मेचीनगर नगरपालिका वडा नं–६ का वडाध्यक्ष ललितबहादुर तामाङ, पूर्व मेची बस व्यवसायी प्रालिका निवर्तमान अध्यक्ष विष्णुकुमार श्रेष्ठ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष राजकुमार सुवेदी, मेची सामुदायिक सेवा केन्द्र काँकरभिट्टाका अध्यक्ष मुक्ति पौडेललगायतले बोलेको कार्यक्रमको सञ्चालन जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका ट्राफिक प्रहरी निरीक्षक गणेश पौडेलले गरेका थिए ।

सोही अवसरमा सडक सुरक्षा र अनुशासन कायम राख्दै सावरी चालकका जिम्मेवारीमा इमान्दारिता साथ सवारी चलाउने लामो तथा छोटो दुरीका युरो यातायात डिलक्सका चालक मेचीनगर–६ का गोपाल पौडेल र नागरिक यातायातका चालक मेचीनगर–१० का विष्णु सार्कीलाई सम्मान गरिएको थियो ।

प्रतिकृया दिनुहोस्