News Portal

काँकरभिट्टामा यात्रु सहायता कक्षः उद्घाटन भव्य, अहिले अलपत्र

रातोपोस्ट संवाददाता
२७ पटक

झापा, १९ असोज । यात्रुलाई सहज र सुरक्षित यात्राका लागि सहजता प्रदान गर्ने उद्देश्यका साथ देशकै सुदूर पूर्वीनाका काँकरभिट्टामा सञ्चानमा ल्याइएको नागरिक सहायता कक्ष उद्घाटन भएको केहि दिनमै अलपत्र अवस्थामा रहेको पाइएको छ । नेपालीहरुको महान चाड बडादशैँ, तिहार एवम छठ पर्वको सन्ध्यामा बढ्ने यात्रुहरुको चापलाई मध्यनजर गर्दै सुरक्षा संयन्त्रको सक्रियतामा गत मंगलबार उक्त सहायता कक्षको भव्यताका साथ उद्घाटन गरिएको थियो ।

‘यात्रुहरुलाई विभिन्न प्रकारका ठगीबाट बचाउन यस सहायता कक्षले महत्वपूर्ण भुमिका खेल्छ, सम्पूर्ण यात्रुहरुलाई आवश्यक सहयोग गर्दै सुरक्षित यात्रा प्रदान गर्न नै हामीले यस कक्ष सञ्चालन गरेका हौँ,’ सहायता कक्षको उद्घाटन गर्दै झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी बन्दुप्रसाद बाँस्तोलाले भनेका थिए । कक्षको उद्घाटन गर्दै उनले सहायता कक्षमा विभिन्न गन्तव्यको भाडादर राख्न र यात्रुहरुसँग आवश्यक समन्वय गर्न सुरक्षा निकायलाई आग्रह पनि गरे ।

तर, चाडपर्वलाई लक्षित यात्रुहरुको संख्या निरन्तर बढिरहेपनि यात्रु सहायता कक्ष भने सुनसान जस्तै छ । उक्त कक्षमा न सुरक्षाकर्मी बसेका छन् न यात्रुलाई आवश्यक जानकारी दिन सक्ने जिम्मेवार नागरिक नै । बरु सहायता कक्षमा राखिएको टेबल कुर्सी नै पो लथालिङ्ग बनेको छ । रातोपोष्ट पत्रिकाका प्रतिनिधि स्थलगत रुपमा पुग्दा न कोही सुरक्षाकर्मी भेटियो न आवश्यक जानकारी दिन सक्ने नागरिक नै ।

सहायता कक्ष उद्घाटनका समयमा जुन भव्यताका साथ विभिन्न उद्घोष गरिएको थियो कक्षको हालको अवस्थाले उक्त सबै आश्वासनलाई झुटो सावित गरिदिएको छ । उक्त सहायता कक्षकै अगाडी ठेला सञ्चालन गर्ने एकजना व्यवसायी उद्घाटन भएको दिनदेखि एकजना पनि निरन्तर रुपमा कक्षमा नदेखिएको बताउँछन् ।

‘यहाँ निरन्तर रुपमा एक जना त बस्नैपर्ने हो । तर, उद्घाटन भएदेखि देखिएको छैन । यात्रुले कसलाई सोध्ने ? को सँग गुनासो गर्ने ?’ उनको प्रश्न छ । सहायता कक्ष अलपत्र रहेको पाएपछि हामीले सम्बन्धित निकाय समक्ष बुझ्यौँ । उक्त क्रममा ट्राफिक प्रहरी पोष्ट काँकरभिट्टाका प्रमुख श्यामसुन्दर पोख्रेलले भोलीदेखि दैनिक रुपमा एकजना ट्राफिक प्रहरी परिचालन गरिने जानकारी दिए ।

यसैगरी बढिरहेको यात्रुको चापलाई ध्यानमा राखि सहायता कक्षमा निरन्तर एकजना सुरक्षाकर्मी बस्नेगरी व्यवस्थापन मिलाइने इलाका प्रहरी कार्यालय काँकरभिट्टाले पनि बताएको छ । चाडपर्व मनाउनका लागि भारतका विभिन्न स्थान पुगेका नेपालीहरु यस नाकाबाट नेपाल भित्रने क्रम बढिरहेको छ । उक्त सम्पूर्ण यात्रुलाई लक्षित गरी सहज र सुरक्षित सेवा प्रदान गर्न नाकामा सहायता कक्ष स्थापना गरिएको हो ।

प्रतिकृया दिनुहोस्