News Portal

उद्घाटनमै सीमित त बन्दैन ‘ट्राफिक टाइम कार्ड’ ?

रातोपोस्ट संवाददाता
४५ पटक

मेचीनगर, १६ मंसिर । शनिबार विहान काँकरभिट्टाको माहोल एकाएक परिवर्तन भयो । अरुबेला बाक्लो रुपमा खासै नदेखिने सुरक्षाकर्मीको उपस्थिति एकाएक बढ्यो । ट्राफिक प्रहरीहरु त्यसरी नै सडकमा निस्किए । झापाका प्रमुख जिल्ला अधिकारीदेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति भयो सीमावर्ती सहर काँकरभिट्टामा । राजनीतिक दलका प्रतिनिधिदेखि स्थानीय यातायात व्यवसायी, सञ्चारर्मीहरु सबैको दर्बिलो उपस्थिति देखेर आश्चर्यमा परे यहाँका स्थानीय नागरिक । कार्यक्रम थियो, बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि ‘टाइम कार्ड’ लागु गर्ने तथा चालक प्रतिबद्धता पत्रमा हस्ताक्षर गराउने कार्यक्रम । सुरक्षा निकायले गर्ने यस्ता कार्यक्रमको उद्घाटन यसरी नै भव्य हुन्छ । तर, कार्यान्वयन भने अत्यन्तै फितलो ! पछिल्लो समय बढिरहेको सडक दुर्घटनालाई मध्यनजर गर्दै त्यसलाई न्यूनीकरण गर्न शनिबारबाट टाइम कार्ड लागु गरिएको छ । एक कार्यक्रमकाबीच विधिवत रुपमै पूर्वी सिमावर्ती शहर काँकरभिट्टाबाट टाइम कार्ड लागु गरिएको हो ।

तर, पूर्वमा यसरी टाइम कार्ड लागु गरिएको यो पहिलो पटक भने होइन । यसअघि २०७६ मा यसरी नै टाइम कार्ड लागु गरिएको थियो । तर, त्यो निरन्तर चल्न सकेन । त्यसबेला टाइम कार्ड लागु गर्दा दुर्घटना न्यूनीकरण पनि भएको थियो । तर, टाइम कार्डको प्रक्रिया निरन्तर चल्न सकेन । अवस्था उस्तै रह्यो । त्यसपश्चात फेरि शनिबारबाट टाइम कार्ड लागु गरिएको छ । जुन उद्घाटनमै सीमित हुने त होइन ? एक यातायात व्यवसायी प्रश्न गर्छन् । तर, ट्राफिक कार्यालय झापाका प्रमुख गणेश पौडेल भने टाइम कार्ड लागुको प्रक्रिया निरन्तर चल्ने र पहिलेको जस्तो फितलो नहुने दाबी गर्छन् । ‘झापा, मोरङ र सुनसरीमा टाइम कार्ड लागु भएको हो । अर्को वैकल्पिक उपाय नभएसम्म तथा यो भन्दा राम्रो विकल्प नभएसम्म टाइम कार्ड लागु हुन्छ,’ उनी भन्छन्, ‘पहिले विविध कारणले बन्द भयो होला, अब हुँदैन ।’

बढ्दो जनघनत्व र सवारी साधनको चापले पछिल्लो समय सडकहरु अत्यन्तै अस्तव्यस्त बनिरहेका छन् । जसका कारण दुर्घटनाको जोखिम पनि उत्तिकै बढ्दो छ । त्यस्तै पूर्व पश्चिम राजमार्ग एशियन हाइवेमा रुपान्तरणका लागि मर्मत कार्य भइरहेको छ । सबैतिर सवारी दुर्घटनाको जोखिम बढ्दो रहेको अवस्थामा टाइम कार्ड लागु हुनु दुर्घटना न्यूनीकरणका लागि उत्कृष्ट कदम हो । तर, यसअघि नै निरन्तरता पाउन नसकेको टाइम कार्डको प्रक्रिया फेरि छोटो समयमै बन्द हुने त होइन ? प्रश्न भने यहाँ छ । शनिबारबाट मध्यम दूरीका सार्वजनिक सवारीसाधनलाई लक्षित गरी झापा, मोरङ र सुनसरीमा टाइम कार्ड लागु गरिएको र अन्य सवारीसाधनलाई छड्के जाँच गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख पौडेल बताउँछन् । तोकिएको समयअनुसार चलाए नचलाएको जाँच गर्न पूर्वबाट जाने सवारीसाधनलाई झापाका तीन ठाउँमा चेकिङ हुने जनाइएको छ । पूर्वबाट जाने सवारीसाधनहरूका लागि काँकरभिट्टा, बिर्तामोड र केर्खामा चेकिङ हुनेछ भने पश्चिमबाट आउनेहरूका लागि दमकको ताराबारी, लक्ष्मीपुर र काँकरभिट्टामा चेकिङ हुने प्रहरी निरीक्षक पौडेलको भनाइ छ ।

टाइम कार्ड अनुसार अब काँकरभिट्टादेखि बिर्तामोडसम्मको १७ किलोमिटर दूरीका लागि ३० मिनेट तोकिएको छ । त्यस्तै, बिर्तामोडदेखि केर्खासम्मको २९ किलोमिटर दूरीका लागि ५१ मिनेट तोकिएको छ । तीव्र गतिका कारण भइरहेको बढ्दो सडक दुर्घटनालाई न्यूनीकरण गर्न झापासहित पूर्वका तीन जिल्लामा टाइम कार्ड लागु भएको र त्यसलाई पूर्णरूपमा कार्यान्वयन गराउन जिल्ला मातहतका प्रहरी तथा ट्राफिक प्रहरी लागि पर्ने जिल्ला प्रहरी कार्यालयका प्रमुख (एसपी) मिलन केसी बताउँछन् । झापामा केही समयदेखि अत्यधिक सवारी दुर्घटना हुने गरेको बताउँदै गत कात्तिक महिनामा १४ जनाले दुर्घटनामा ज्यान गुमाइसकेका उनको भनाइ छ । त्यस्तै, बढ्दो सवारी दुर्घटना न्यूनीकरणको लागि अब यातायातकर्मी, सर्वसाधारण सबै सरोकारवाला निकायले टाइम कार्डको पूर्णरूपमा पालना गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोला बताउँछन् ।

प्रतिकृया दिनुहोस्