News Portal

शिवसताक्षी धाममा मंसिर १४ देखि धार्मिक महोत्सव हुने

रातोपोस्ट संवाददाता
३८ पटक

शिवसताक्षी, ११ मंसिर । झापाको धार्मिक तथा पर्यटकीय क्षेत्र शिवताक्षीधाममा श्रीशताक्षी गोरक्षा महोत्सव तथा महायज्ञ २०८१ आयोजना हुने भएको छ । श्री शताक्षीधाम गोलोक गोवर्धन गौशाला तथा श्री शताक्षीधाम धार्मिक तथा पर्यटन विकास समिति शिवसताक्षी–११ को संयुक्त आयोजनामा मंसिर १४ गतेदेखि २४ गतेसम्म महायज्ञ आयोजना हुने सोमवार पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो । सोही महायज्ञ अन्तर्गत पञ्चकुण्डीय श्रीरुद्र महायज्ञ, श्रीतुलसी शालिग्राम, श्री सीताराम विवाह तथा लिंग महापुराण कथा प्रवचन, ५१ फिट अग्लो रुद्राक्षको शिवलिंगमा विशेष पूजा अर्चना गरिने आयोजक संस्थाले जनाएको छ । रुद्राक्षको विशाल शिवलिंग सम्भवतः नेपालमै पहिलो हो ।

गौशालाको वार्षिकोत्सवका अवसर पारेर १२ दिने महायज्ञसहित विभिन्न कार्यक्रमको आयोजना गरिएको गौशालाका आचार्य पण्डित नन्दकिशोर भारद्वाजले जानकारी दिए । उनका अनुसार मंसिर १४ गते अखण्ड हरिनाम संकीर्तन प्रारम्भ, १५ गते बालचतुर्दशी उत्सव सतबिउ रोपण, १६ गते विद्वत सम्मेलन तथा भण्डारा, १७ गते अनुष्ठान प्रारम्भ, पञ्चकुण्डीय श्री रुद्र महायज्ञ तथा ५१ फिट अग्लो रुद्राक्षको शिवलिंगमा विशेष पूजा अर्चना, रुद्री पाठ तथा श्रीलिंग महापुराण प्रारम्भ हुनेछन् । यसैगरी, मंसिर १८ गतेदेखि नियमित पञ्चकुण्डीय महायज्ञ तथा रुद्री पाठ एवं श्री लिंग महापुराण प्रवचन, २० गते झापाका सामुदायिक विद्यालयका छात्रहरुबाट गोरक्षाको आवश्यकता माथि प्रतिस्पर्धात्मक विचार गोष्ठी, २१ गते विवाह पञ्चमी, श्री सीताराम, तुलसी शालिग्राम विवाह महोत्सव, २२ गते कनकाई मातामा दुग्धाभिषेक, २३ गते नेपाल प्रहरी तथा उत्कृष्ट गौसेवक सम्मान र मंसिर २४ गते गोरक्षा महोत्सवसहित धार्मिक कार्यक्रम सम्पन्न हुनेछ ।

हाल गौशालामा ६ सय ६२ वटा गाईबाछा छन् भने बाहिर २ हजार १६० रहेका आचार्य पण्डित भारद्वाजले बताए । गौशालाका लागि १५ जना कर्मचारी र गाईबाछाको आहाराका लागि मासिक ५ देखि ६ लाख खर्च हुने गरेको उनले बताएका छन् । गौशालाका उपाध्यक्ष तथा कार्यक्रमका संयोजक बेदप्रकाश अग्रवालको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सहजीकरण सचिव मदनमोहन अधिकारीले गरेका थिए । कार्यक्रममा गौशाला प्रमुख घनश्याम खनाल, कार्यसमिति सदस्य कृष्ण खरेल लगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्