News Portal

एनएमसीलाई प्रश्न: घरघरमा ट्याग राखेर अस्वस्थ प्रतिस्पर्धा किन ?

नवराज सुवेदी
१०१ पटक

मेचीनगर । गाउँ–गाउँमा भविष्यका लागि रकम बचत गर्नुपर्छ भन्ने चेतना पुगेको छ, पछिल्लो समय । घर–घरमा पुगेका छन्, सहकारी संस्थाहरु । सहकारी संस्थाका बजार प्रतिनिधिको पहुँच नपुगेको गाउँ नहोला सायदै ! सहकारीका सदस्य नभएको घर पनि छैन सायद ! सहकारी शिक्षाले छलाङ नै मारेको छ । सदस्यहरु समयक्रमानुसार शिक्षित पनि बन्दैछन् । देशकै सुदूरपूर्वी क्षेत्रमा ‘बर्चश्व’ नै छ एक सहकारी संस्थाको । सीमावर्ती सहर काँकरभिट्टामा प्रधान कार्यालय रहेर विभिन्न क्षेत्रमा सेवा विस्तार गरिरहेको यस सहकारी संस्था ‘देशकै उत्कृष्ट मध्येको एक’ भन्दा फरक नपर्ला ! तर, सोही सहकारी संस्थाको एउटा कार्य भने सहकारी ‘विधान भन्दा बाहिर’ र अस्वस्थ प्रतिस्पर्धाको प्रतिकका रुपमा स्थापित छ ।

उक्त सहकारी संस्था हो, नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) । सहकारी संस्था वित्तीय सेवा प्रदानका क्षेत्रमा अब्बल छ भने विभिन्न व्यवसाय पनि सञ्चालन गरिरहेको छ । तर, सहकारी संस्थाको एउटा कार्य छ, जुन विषय विवादित बनेको छ । सहकारी संस्थाले आफ्ना सदस्यहरुको घरमा गएर ‘एनएमसी सदस्य’ लेखिएको स्टीकर (ट्याग) लगाइदिने गरेको छ । जुन विषय अस्वस्थ प्रतिस्पर्धाको प्रतिक हो । कानूनले यकिन रुपमा यस विषयलाई कसूरका रुपमा परिभाषित नगरेको भएपनि यस्ता कार्य भने गर्न पाइँदैन । सहकारी विभागका उप–रजिष्ट्रार तथा सूचना अधिकारी रघुनाथ महत ‘यो सदस्य मेरो हो’ भनेर स्टीकर नै टाँस्न नपाइने बताउँछन् । कानूनी रुपमा स्पस्ट नभए पनि यो सदस्य मेरै हो भन्नाले अर्कोलाई असर पर्ने र अस्वस्थ प्रतिस्पर्धा सिर्जना हुने उनको भनाई छ ।

‘सदस्यहरु पनि जानकार रहँदै यस्ता विषयमा बहस हुनुपर्छ भन्ने हो, यद्यपि यो सदस्य मेरै हो भनेर भन्न पाइँदैन,’ सूचना अधिकारी महत भन्छन् । पूर्वी क्षेत्रमा सहकारी संस्थाका रुपमा एनएमसी मात्रै हो भन्ने पनि होइन । बजार र चोकैपिच्छे संस्थाका कार्यालयहरु खुलेका छन् । गाउँ–गाउँमा समेत कृषिका क्षेत्रमा सहकार्य गर्ने लक्ष्य अनुरुप खुलेका छन् सहकारीहरु । तर, यी कुनैपनि सहकारी संस्थाहरुले एनएमसी जसरी स्टीकर टाँसेका छैनन् । न सदस्यका घरमा नै एनएमसी बाहेक अरु संस्थाका स्टीकर देखिन्छन् । जुन यथार्थले एनएमसीले आफ्नो प्रचार स्वरुप स्टीकर टाँसेको प्रस्ट्याउँछ । अरुले स्वतन्त्रपन दिएका सदस्यहरुलाई आफ्नो स्टीकर टाँसेर एनएमसीले ‘मेरो मात्रै सदस्य हो’ भन्ने खोजेको र आफ्नो प्रचार गर्न खोजेको एनएमसीकै एक सदस्यले बताएका छन् ।

नाम नखुलाउने सर्तमा उनी भन्छन्, ‘म एनएमसी मात्रै होइन, अरु सहकारीमा पनि सदस्य छु । तर, अरुले त हैकम जमाएका छैनन् ।’ ती सदस्यले भने जस्तै अधिकांश घरका धेरै सदस्यहरु विभिन्न सहकारीका सदस्य छन् । तर, घरमा स्टीकर भने एनएमसीको मात्रै छ । कानून सम्बन्धी जानकार तथा नेपाल बार एसोसिएसन झापाका अध्यक्ष नारायण भट्टराई पनि सहकारीहरुले आफ्नो प्रचार प्रसार स्वरुप यस्तो कार्य गर्न नहुने बताउँछन् । ‘प्रचार प्रसारका रुपमा यस्तो कार्य गर्नै पाइँदैन, संस्थाहरुले आफै आफ्नो प्रचार गर्न पाइँदैन,’ उनी भन्छन् ।

सदस्यहरुलाई सहकारी संस्थाको कार्य नियाल्दै आफु कुनमा आबद्ध हुने भन्ने स्वतन्त्रता छ । तर, यस्ता कार्यले त्यस स्वतन्त्रताको हनन हुने सहकारीकर्मीहरुको मत छ । कोशी प्रदेश सहकारी संघका सचिव भवानीप्रसाद दंगाल सदस्य मेरो हो भनेर ट्याग लगाउनाले नागरिकको नैसर्गिक अधिकार नै हनन हुने बताउँछन् । सहकारी ऐनले नै विविध विधा छुट्याउँदै सहकारीको प्रकार विभाजन गरेकाले ती सबै प्रकारका सहकारीमा आबद्ध हुने नागरिकको अधिकार कुनैपनि सहकारीले ‘मेरो सदस्य हो’ भनेर भन्दा नागरिक अधिकार माथिकै हनन् हुने उनको भनाई छ ।

तर, सहकारी संस्थाका सूचना अधिकारी मनिष कोइराला भने समुदायसँगै जोडिनका लागि सदस्य ट्याग राखिएको र संस्थालाई नियमन गर्ने निकायले स्पष्ट रुपमा यस्ता कार्य नगर्नु भनेको खण्डमा संस्था तत्काल ट्याग हटाउन तयार रहेको बताउँछन् । आफुहरुले सदस्यसँगै स्वीकृति लिएर ट्याग राखिएको जनाउँदै सदस्यहरुले अस्वीकार गरेको खण्डमा ट्याग नराख्ने गरेको उनको दाबी छ । ‘समुदायमा विविध कार्य गर्न पनि सहज हुने तथा आफ्नोपन पनि बढ्ने भएकाले सदस्यहरुको स्वीकृति लिएरै ट्याग राख्न थालिएको हो,’ उनी भन्छन्, ‘संस्थालाई नियमन गर्ने विभिन्न निकायहरु छन्, विभिन्न समयमा निरीक्षण हुन्छ । तर पनि स्पष्ट रुपमा निर्देशन आएको छैन, आएको खण्डमा नीति मान्दैनौं भन्ने हुँदैन, ट्याग हटाउँछौं ।’

यस सन्दर्भमा उपल्लो नियामक निकायमा उजुरी पनि परेको छ, भन्ने जानकारी आएको छ । यद्यपि पुष्टि भएको छैन । यसमा संस्थालाई केही जानकारी छ ? भन्ने प्रश्नमा उनी भन्छन्, ‘मैले सूचना अधिकारीको जिम्मेवारी सम्हालेदेखि आजसम्म त्यस्तो जानकारी आएको छैन । यस बर्षमा आएको छैन ।’ एनएमसी सहकारी संस्थामा अहिले एक लाख ७२ हजार बढी शेयर सदस्यहरु आबद्ध छन् भने संस्थाले झापा, मोरङ र इलाम जिल्लामा सेवा प्रदान गरिरहेको सूचना अधिकारी कोइरालाले जानकारी दिए । ती मध्ये एक लाख बढी सदस्यहरुको घरमा उक्त ट्याग लगाइएको उनले जानकारी दिए । बोर्डरल्यान्ड दैनिकबाट

प्रतिकृया दिनुहोस्