झापा।नेत्र विक्रम चन्द (विप्लव )नेतृत्वको नेकपा निकट अखिल ( क्रान्तिकारी) मेचि-कोशी ब्युरो अन्तर्गतका झापा, मोरङ , सुनसरी लगायतका जिल्लाले अनलाइन शिक्षाका नाममा शुल्क लिएको भन्दै पम्प्लेट सहित प्रदर्शन गरेको छ। कोरोना महामारीका बेला अव्यवस्थित पठन-पाठन गरी लकडाउनको समयमा पनि शूल्क असूलीको धन्दा अघि सारेर विद्यार्थी तथा अभिभावक माथि मानसिक एवं आर्थिक शोषण बन्द गर्नुपर्ने भन्दै प्रदर्शन गरिएको छ।
पछिल्लो समय विभिन्न बहानामा विद्यालयहरले शुल्क तिर्न दबाब दिएको भन्दै मेचीकाेसी ब्युरो संयाेजक पुष्पले चेतावनी सहितको विज्ञप्ति जारी गरेका थिए।
शैक्षिक दलालहरु होसियार! अनलाइन शिक्षाको नाममा शुल्क असुली बन्द गर! पठन-पाठनमा नया आयाम र एकरुपताको ग्यारेन्टि गर! व्यवस्थित परिक्षाको तयारी गर्ने कि टुलुटुलु हेरेर बस्ने सरकार! जस्ता आकर्षक नाराहरु सहित अखिल (क्रान्तिकारी )ले प्रदर्शन गरेको हाे।
यसअघि अखिल ( क्रान्तिकारी) मेचि-कोशी अन्तरगतका झापा, मोरङ , सुनसरी लगायतका जिल्लामा अनलाइन शिक्षाको नाममा अभिभावकसंग निजी शिक्षण संस्थाहरुले मनपरी शुल्क असुलेको भन्दै शिक्षा विकास तथा समन्वय इकाई , प्याब्सन र एनप्याब्सनलाई यस किसिमको गलत कार्य तत्काल रोक्न ध्यानाकर्षण पत्र बुझाएको छ । कोरोना महामारीका बेला अव्यवस्थित पठन-पाठन गरी लकडाउनको समयमा पनि शूल्क असूलीको धन्दा अघि सारेर विद्यार्थी तथा अभिभावक माथि मानसिक एवं आर्थिक शोषण गर्न लागेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
विज्ञप्तिमा भनिएको छ – यस्तो महाविपत्तिका बेला कुम्ल्याउन पल्केका भ्रष्ट शिक्षण संस्थाहरुको नीच र निन्दनीय हर्कतको संगठन घोर भर्त्सना गर्दछ । साथै यस किसिमको गैर जिम्मेवारीपूर्ण कार्यलाई तत्काल रोक्न सरोकार पक्षलाई ध्यानाकर्षण गराउन चाहन्छ।
अन्त्यमा यस्ता कार्यहरु वन्द नगरिएमा उत्पन्न हुने परि- स्थितिको जिम्मेवार स्वयं सरोकारवाला पक्ष हुनेछ भनिएको छ।
मेची- कोशी क्षेत्रीय समन्वय समितिले घोषणा गरेको कार्यक्रम अन्तरगत कोण सभा पनि सम्पन्न गरेको ब्युरो संयोजक पुष्पले बताएका छन्।
हेर्नुस तस्बिरमा