झापा, १३ पुस । साहित्यकार एवम् पूर्व प्रअ भीम खवासको कथा संग्रह ‘सोनसरी भोकै निदाई’ विमोचन गरिएको छ । प्रमुख अतिथि वरिष्ठ साहित्यकार कृष्ण धरावासीले शनिबार एक कार्यक्रमका बीच कृति विमोचन गरे । पुस्तकमाथि टिप्पणी गर्दै झापाका अग्रज साहित्यकार एवम् प्राध्यापक चुडामणी वशिष्ठले कथाकारको रुपमा खवासको दर्बिलो उपस्थिति भएको बताए । उनले मुलुकप्रतिको चिन्ताको रुपमा पुस्तक प्रकट भएको टिप्पणी गरे । कथामा निर्धन, निरीह, अतिविपन्न पात्रहरुको प्रयोग गर्दै नेपाली समाजको यथार्थ चित्रण गरिएको बशिष्ठले बताए ।
प्रमुख अतिथि धरावासीले कथामा पात्रहरुलाई सकारात्मक सोच र सन्देशका साथ प्रस्तुत गरिएको बताए । उनले पुस्तकमा कथाकी आमा पात्र ‘सोनसरी’ जस्ता भोकै सुत्ने क्षमतावान आमाकै कारण खवास जस्ता सशक्त प्रतिभा समाजमा जन्मिन पाएको धारणा राखे । ११ वटा कथा समेटिएको पुस्तकमा गरिबी, अभाव, संघर्ष, पुरुष हिंसा जस्ता विषयवस्तु उठाइएको छ । वि.स. २०११ सालमा भोजपुरमा जन्मिएका खवासको यसअघि ‘नबिर्सेका दिनहरु’ प्रकाशित छ भने फुटकर लेख तथा कविता प्रकाशोन्मुख कृतिको उपमा रहेको पुस्तकमा उल्लेख छ ।
सोही अवसरमा कृषि पुरस्कारबाट अर्ग्यानिक कृषिका अभियन्ता भिम कुवार, उद्धमी महिला पुरस्कारबाट फुलकुमारी चौधरी, फरक क्षमताका वापजुत सामाजिक कार्यमा सकृय ‘अपाङ्ग मोर्केटिङ संघ’ मेचीनगरका उपाध्यक्ष राम बुढाथोकी नगद १५/१५ हजार रुपैयाँ तथा दोसल्लासहित सम्मानित भए । त्यस्तै प्रतिभा प्रोत्साहन पुरस्कारबाट वक्तृतामा प्रदेश प्रथम भएकी धुलाबारी माविकी विद्यार्थी दिब्या राय नगद ५ हजार रुपैयाँसहित सम्मानित भइन् । खवासको पुस्तकलाई रण-खड्ग खवास फाउन्डेशनले प्रकाशन गरेको छ । लेखक एवम् फाउन्डेशनका अध्यक्ष खवासको अध्यक्षतामा आयोजित कार्यक्रममा स्वागत परिवारको तर्फबाट संविधानसभा सदस्य अम्बिका खवास, औचित्यमाथि प्रकाश शिला खवास र संचालन सन्तोष आचार्यले गरेका थिए । शान्ति समाज मेचीनगर-१०, धुलाबारीको सभाहलमा आयोजित कार्यक्रममा झापाली साहित्यकार तथा लेखकहरुको बाक्लो उपस्थिति थियो ।