News Portal

अक्सिजन सिलिन्डर भरेर राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन

रातोपोस्ट संवाददाता
३१८ पटक

काठमाडाैं, २५ जेठ । कोभिड-१९ महामारीको उच्च जोखिम कायमै रहेकाले अक्सिजन सिलिन्डर भरेर राख्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालहरूलाई निर्देशन दिएको छ। स्वास्थ्य मन्त्रालयले मंगलबार सूचना जारी गरी अक्सिजनको व्यवस्थापन गरी राख्न अस्पताल तथा स्वास्थ्य संस्थालाई निर्देशन दिएको हो।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जारी गरेको सूचनामा महामारीको जोखिम कायमै रहेको जनाएको छ। “संख्यात्मक रुपमा संक्रमण केही कम भएको जस्तो लक्ष्मणहरू देखिए पनि महामारीको उच्च जोखिम कायम नै छ,” डा. अधिकारीले भनेका छन्।  त्यसैले घरमा रहेका अक्सिजन सिलिन्डर सम्बन्धित कम्पनीलाई फिर्ता गर्न पनि उनले आग्रह गरेका छन्। उपचारका लागि अत्यावश्यक हुने अक्सिजन भर्नुपर्ने सिलिन्डिर बिभिन्न कारणले देशका बिभिन्न भागमा व्यक्तिका घर घरमा, टोल टोलमा, बिभिन्न किसिमका आइसोलेसन सेन्टर र अस्पतालमा पुगेको जनाएको छ।

ति सिलिन्डर फिर्ता नहुँदा आपूर्तिमा असर पर्ने उल्लेख गर्दै मन्त्रालयले भनेको छ, “जुनसुकै व्यक्ति, संस्था, निकायले जुनसुकै बहानामा लैजानु भएका अक्सिजन सिलिन्डर यथासक्य चाँडो जुन उद्योगको सिलिन्डर हो, सोही उद्योगमा भर्नका लागि उपलब्ध गराइदिनहुन अनुरोध छ।”यससँगै स्वास्थ्य मन्त्रालयले अस्पतालहरूलाई पनि अक्सिजन भरेर राख्न सचेत गराएको छ।

“अस्पतालहरूले अधिकतम मात्रामा अक्सिजन सिलिन्डर भरेर राख्नहुन, अक्सिजन प्लान्ट वा ट्यांक मर्मत, जडान जतिसक्दो चाँडो गरी पूर्ण क्षमतामा सञ्चालन हुने व्यवस्था गर्नुहुन अनुरोध छ,” डा.अधिकारीले भनेका छन्। त्यस्तै, अक्सिजनको अनावश्यक प्रयोग नगर्न पनि मन्त्रालयले आग्रह गरेको छ। मन्त्रालयले भनेको छ, “अक्सिजन जस्तो औषधिको रुपमा प्रयोग हुने विषयलाई अनावश्यक रुपमा वितरण र प्रयोगलाई प्रोत्साह गरी मानिसको ज्यानै जाने जोखिम हुने खालका काम नगर्न नगराउनु हुन सबैमा सचेत गराइन्छ।”

प्रतिकृया दिनुहोस्