News Portal

यस्तो बन्यो २५ सदस्यीय ओली मन्त्रिपरिषद

रातोपोस्ट संवाददाता
४५१ पटक

काठमाडौं, २७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले ७ मन्त्री र एक राज्यमन्त्रीसहित मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । उनले माओवादी केन्द्र छाडेका तथा मावध नेपाल पक्ष छाडेर ओलीपक्षमा लागेकालाई पनि मन्त्रिपरिषद्मा समावेश गरेका छन् । एमालेको खनाल–नेपाल समूह छाडेका नेता तथा सिन्धुलीबाट प्रतिनिधिसभामा निर्वाचित सांसद गणेश पहाडीलाई सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिन लागिएको छ । उनी प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने बेलामा संसद्मा अनुपस्थित थिए । तर, उनले शेरबहादुर देउवलाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गरेका छैनन् ।

यस्तै पूर्वस्वास्थ्यमन्त्री खगराज अधिकारीले गृहमन्त्रालय सम्हाल्ने भएका छन् । सांसद नरहेका तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सर्वोच्चको आदेशपछि पदमुक्त भएकाले जेठ दोस्रो सातादेखि गृहमन्त्रालय प्रधानमन्त्री ओलीले आफू मातहतमा राखेका थिए । अधिकारी यसअघि सुशील कोइराला प्रधानमन्त्री हुँदा स्वास्थ्य तथा जनसंख्या मन्त्री थिए । २०७४ मा कास्कीबाट चुनाव जितेलगत्तै उनी एमाले प्रमुख सचेतक बनेका थिए । माओवादी केन्द्र र नेकपा एमालेबीच एकता भएपछि उनलाई प्रमुख सचेतकबाट हटाएर देव गुरूङलाई प्रमुख सचेतक बनाइएको थियो । यस्तै जसपाका नेता राजकिशोर यादव उद्योग मन्त्री बनेका छन् । उनी जसपा अगाडी राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का अध्यक्षमण्डलका सदस्यसमेत थिए । उनी जसपा अध्यक्ष महन्थ ठाकुर निकट मानिन्छन् ।

यस्तै नारदमुनी रानालाई वन तथा वातावरण मन्त्री बनाउने तयारी गरिएको छ । राना विघटित प्रतिनिधिसभा सदस्यमा कैलाली ५ बाट निर्वाचित भएका थिए । उनले कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवालाई पराजित गरेका हुन् । २०६४ सालको संविधानसभा सदस्यमा समेत निर्वाचित राना २०५४ सालमा धनगढी उपमहानगरपालिकाको उपप्रमुखसमेत बनेका थिए । यता सर्वोच्चको आदेशपछि पदमुक्त भएका रामबहादुर थापाकी पत्नीलाई पनि मन्त्री बनाइएको छ । पूर्वगृहमन्त्री बादलकी पत्नी नैनकला थापा संचारमन्त्री बन्ने भएकी छन् । नैनकला विगतमा महिला आयोगको अध्यक्ष थिइन् ।

प्रधानमन्त्रीले मन्त्रिमण्डल विस्तारमा पूर्वमाओवादी समूहबाट दुईजनालाई समेटेका छन् । नैनकलासँगै ज्वाला शाह कृषिमन्त्री बन्ने भएकी छन् । शाह बारा जिल्लाको क्षेत्र नम्वर ३ बाट विघटित प्रतिनिधि सभामा निर्वाचित् भएकी थिइन् । २०५४ सालमा ज्वाला भूमिगत नेकपा माओवादीमा संगठित भएकी उनले यसअघि २०६७ सालमा भुमीसुधार राज्यमन्त्री भएकी थिइन् । ज्वाला तत्कालीन माओवादी केन्द्रबाट प्रदेश सभा–२ बाट सांसदमा निर्वाचित भएकी थिइन् । बाराबाट सांसद निर्वाचित साह नेकपा खारेज भएपछि ओली समूहमा लागेकी थिइन् । पार्टी परिवर्तन गरेको भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनीसहित चार जनालाई सांसद पदबाट हटाएका थिए ।

प्रचण्डले शाहलाई सांसदबाट बर्खास्त गरेपछि प्रधानमन्त्री ओलीले प्रदेश २ को एमाले अध्यक्ष बनाएका छन् । यस्तै नेकपा एमालेका केन्द्रीय सदस्य मोहन बानियाँ पनि मन्त्री बन्ने भएका छन् । उनको मन्त्रालय भने टुंगो लागेको छैन । बानियाँलाई नेकपा एमालेले २०७४सालको निर्वाचनमा (पिछडिएको क्षेत्र/पुरुष) कोटाबाट समानुपातिक सांसद चयन गरेको हो । यस्तै बझाङबाट विघटित प्रतिनिधि सभामा समानुपातिक सांसद बनेकी आशा विकलाई वन राज्यमन्त्री बनाइने भएको छ । नवनियुक्त मन्त्रीहरूको सपथग्रहण आज अपरान्ह ४ बजे हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

प्रतिकृया दिनुहोस्