News Portal

टोकियो ओलम्पिक : आयोजक जापान आठ स्वर्णसहित शीर्ष स्थानमा

रातोपोस्ट संवाददाता
२७१ पटक

टाेकियाे, १२ साउन । जापानको राजधानी टोकियोमा जारी ३२औं ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा आयोजक  जापान पदक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। अमेरिका र चीनलाई उछिन्दै जापान शीर्ष स्थानमा पुगेको हो। जापानले हालसम्म आठ स्वर्ण, दुई रजत र तीन कास्यसहित कुल १३ पदक प्राप्त गरेको छ। अमेरिकाले सात स्वर्ण, तीन रजत र चार कास्य पदकसहित दोस्रो स्थानमा छ भने ६ स्वर्ण, पाँच रजत र सात कास्य पदकसहित चीन तेस्रो स्थानमा छ।

यस्तै चार स्वर्ण, पाँच रजत र तीन कास्य पदक प्राप्त गर्दै रसियन ओलम्पिक पदक तालिकाको चौंथो स्थानमा रहेको छ। बेलायत तीन स्वर्ण, तीन रजत र एक कास्य पदकका साथ पाँचौं स्थानमा रहँदा तीन स्वर्ण र चार कास्यसहित दक्षिण कोरिया छैटौं स्थानमा रहेको छ। दुई स्वर्ण, एक रजत र तीन कास्यका साथ अस्ट्रेलिया सातौंमा तथा दुई स्वर्ण जित्दै कोसोभो आठौं र एक स्वर्ण, तीन रजत र चार कास्यसहित इटाली नवौँ तथा फ्रान्स एक स्वर्ण, दुई रजत र दुई कास्यका साथ पदक तालिकाको १०औँ स्थानमा रहेको टोकियो ओलम्पिकको वेभसाइटमा उल्लेख छ।

टोकियो ओलम्पिकमा सहभागी देशमध्ये हालसम्म ५० देशले पदक प्राप्त गर्न सफल भएका छन्। नेपालबाट चार खेलमा पाँच खेलाडी टोकियो ओलम्पिकमा सहभागी भएका छन्। तीमध्ये सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्टले खेलिसकेका छन्। टोकियो ओलम्पिकमा अब पौडीका गौरिका सिंह र एलेक्स शाह तथा एथलेटिक्सकी सरस्वती चौधरीले प्रतिस्पर्धा गर्न बाँकी छ। सिंहले महिला १०० मिटर फ्रि स्टाइल, शाहले पुरुष १०० मिटर फ्रि स्टाइल तथा चौधरीले महिला १०० मिटर दौडमा प्रतिस्पर्धा गर्न बाँकी छ।

प्रतिकृया दिनुहोस्