News Portal

शेरधन राईले आजै राजीनामा दिने, भीम आचार्य मुख्यमन्त्री बन्दै

रातोपोस्ट संवाददाता
३५६ पटक

विराटनगर, १० भदाै । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आज बिहीबार राजीनामा दिने भएका छन् । नेकपा एमाले संसदीय दलको बैठक बिहीबार बिहान ११ बजे बोलाइएको छ । सोही बैठकबाट मुख्यमन्त्री राइले पदबाट राजीनामा दिएर भीम आचार्यलाई दलको नेता चयन गर्न बाटो खोल्न लागेका हुन् ।

बैठकमा अनिवार्य उपस्थित हुन भन्दै माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीमा गएका भनिएका सांसदलाई समेत बोलाइएको छ । आज नै आचार्यले मुख्यमन्त्रीको सपथ लिने तयारी भइरहेको एमाले स्रोतले जनाएको छ । ९३ सदस्यीय प्रदेश १ को प्रदेशसभामा एमालेसँग ५१ सांसद रहेका थिए । सभामुखसमेत एमालेकै रहेको र एक सांसद अदालतले दोषी ठहर गरेपछि फरार छन् । एमालेलाई प्रदेशसभामा बहुमतका लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ ।

एकीकृत समाजवादीमा एमालेको केन्द्रीय सदस्यसमेत रहेका प्रदेश सांसद राजेन्द्रकुमार राई र राजन राईले निर्वाचन आयोगमा सनाखतमै हस्ताक्षर गरिसकेका छन् । प्रदेश १ मा एमालेबाट नेपाल नेतृत्वको समाजवादीमा जाने सांसदको संख्या ९ जना रहेको उनीहरूको दाबी छ । अहिले त्यो संख्या घटिसकेको एमाले स्रोतको दाबी छ । यसअघि नेपाल समूहमा रहेका आचार्यले एक पटक सहयोग गर्न भन्दै सांसदलाई फोन गरिसकेका छन् ।

प्रतिकृया दिनुहोस्