News Portal

कमल थापाको अल्टिमेटम : चुनाव घोषणासम्म माग पूरा नभए नयाँ पार्टी

रातोपोस्ट संवाददाता
६२२ पटक

काठमाडाैँ, २४ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) फुटको अवस्थामा पुगेको छ । गत मंसिरमा भएको महाधिवेशनबाट अध्यक्षमा हारेका कमल थापाले अध्यक्ष राजेन्द्र लिङ्देनलाई तीन वटा माग पूरा गर्न आज अल्टिमेटम दिएका छन् । ती माग अध्यक्ष लिङ्देनले सम्बोधन नगरे ‘नयाँ यात्रा’ थालनी गर्ने चेतावनी थापाको छ। थापाले राजसंस्था छाडेर हिन्दुवादी दल खोल्ने तयारी गरेका छन्।

उनले आज सुकेधारामा आफूपक्षिय नेताको भेला गरेर सरकारले स्थानीय चुनावको मिति घोषणा गर्नुअघि नै पार्टी अध्यक्ष लिङ्देनबाट आफूले उठाएका माग सम्बोधन हुनुपर्ने बताएका हुन्। सरकारले सम्भवत आजै स्थानीय तह चुनाव मिति घोषणा गर्न सक्छ। आज अल्टिमेटम दिएर आजै सबै माग पूरा गर्ने भन्ने त होइन तर समय एकदम कम छ,’ उनले भने, ‘मलाई नयाँ यात्रा सिर्जना गरेर दु:ख बेसाउने मन छैन। तर बाध्य बनाउनुभयो भने नयाँ यात्रा सुरू हुन्छ। म त्यो यात्रामा साथ दिन कसैलाई पनि कर गर्दिनँ, आफ्नो स्वेच्छाले निर्णय गर्नुस्, अन्तरआत्मालाई सोधेर निर्णय गर्नुस्। हामी निर्णायक घडीमा आइपुगेका छौं।’

सैद्धान्तिक, व्यवहारिक र संगठनात्मक गरी तीन विषय आफूले उठान गरेकोले त्यसबारे पार्टी नेतृत्वले छलफल गरेर निराकरण गर्नुपर्ने थापा बताउँछन्। महाधिवेशनबाट अध्यक्षमा पराजित भएपछि थापाले निर्मल निवासले नाङ्गो हस्तक्षेप गरेको आरोप लगाउँदै यसबारे छानबिन हुनुपर्ने अडान राखिरहेका छन्।स्थानीय चुनाव सरकारले घोषणा गर्नुअगाडि नै हामीले उठाएका तीन विषयमा छलफल गरेर निराकरण हुँदैन र समाधान खोज्नतर्फ लागिएन भने हामी बाध्य भएर विकल्पमा जानुपर्दछ,’ थापाले भने। निर्मल निवासले राप्रपालाई पहिलेदेखि नै हस्तक्षेप गरिआएको थापाको दाबी थियो। ‘पार्टी विभाजन गर्दा राजावादी शक्ति विभाजन हुँदो रहेछ भन्ने पनि निर्मल निवासले बुझ्नुपर्दछ,’ उनले भने। पार्टी महाधिवेशनमा निर्मल निवासले गरेको हस्तक्षेपलगायत विषयबारे छलफल गरेर पार्टी नेतृत्वबाट निराकरण भयो भने आफू राप्रपामै रहने र देशैभर संगठन विस्तारका काममा लाग्ने उनले बताए।

आफूले मंसिर २७ र माघ १६ मा अध्यक्ष लिङ्देनलाई पत्र पठाएरै ध्यानाकर्षण गरे पनि सुनुवाइ नभएको थापा बताउँछन्। मंसिर २७ मा औपचारिक रूपमा अध्यक्ष लिङ्देनलाई पत्र पठाएँ तर त्यो पत्र रड्डीको टोकरीमा फाल्ने काम भयो। पदाधिकारीले छलफल प्रयास गरे पनि सुनुवाइ भएन,’ उनले भने, ‘यसबीचमा बरू केन्द्रीय कार्यसमिति विस्तार भयो। अपरिपक्क ढंगले पार्टी सञ्चालन भएको छ। एकपक्षिय ढंगले मनोनयन भइरहेका छन्। पदाधिकारीहरू हचुवा ढंगबाट कुनै आधारविना नै मनोनयन गरिएको छ। यसरी पार्टी सञ्चालन उपर्युक्त भएन भनेर फेरि माघ १६ मा अर्को पत्र अध्यक्षलाई लेखेँ- त्यसमा पनि कुनै सुनुवाइ भएको छैन।’

उनले पार्टी दुर्घटनाउन्मुख रहेको बताए। ‘अब लामो समयसम्म प्रतीक्षा गरेर रहन सकिँदैन। पार्टी दुर्घटनातर्फ उन्मुख हुँदै गइरहेको छ,’ उनले भने, ‘कार्यकर्तामा विचलन देखिएको छ। यही अवस्थामा स्थानीय चुनाव आइरहेको छ। हामीले यो अवस्थामा तीन विषय निराकरण गरिएन भने निरिह र लाचार भएर यो सबै घटनाक्रमको साँची भएर बस्न सकिन्न। उनले अध्यक्ष लिङ्देनसँग दुई दिनअगाडि पनि कुरा भएको बताए। दुई दिनअघि राजेन्द्र लिङ्देनसँग भेट भयो, कुराकानी भयो। मैले उहाँलाई भने- मैले उठाएका कुरा तपाईं अध्यक्ष भएको वैधताबारे होइन। तपाईं निर्वाचित अध्यक्ष हो र ५ वर्ष तपाईंले नै पार्टी हाँक्ने हो,’ थापाले भने, ‘उहाँ (राजेन्द्र) पनि भावुक हुनुभयो। मप्रति स्नेह र सम्मान अझै बढी रहन्छ भन्नुभयो।’

आइतबार पनि अध्यक्ष लिङ्देनले आफूलाई फोन गरेको थापा बताउँछन्। ‘कसले मैले पार्टी खोल्न लाग्यो भन्दियो उहाँले मलाई हिजो पनि फोन गर्नुभएको थियो,’ उनले भने, ‘म दु:ख बेसाउँदिनँ। तर बाध्य बनाइयो भने विकल्प सोच्छु भनेँ। थापाले निर्मल निवासको हस्तक्षेपपछि राप्रपाको वैचारिक मान्यतामा प्रश्न चिन्ह उठेको तर्क पनि अघि सारेका छन्। हामी राजनीतिभन्दा माथि राजा हुन्छ भन्दै हिँड्ने र शतप्रतिशत राजावादी भएको पार्टीमा फलानालाई जिताउनु फलानालाई हराउनु भन्ने निर्मल निवासको हस्तक्षेप रह्यो,’ उनले भने, ‘यसबाट व्यक्तिगत रूपमा मलाई चोट र पीडा त छँदैछ। राजसंस्थाप्रति आस्था बोक्नेहरूलाई पनि पीडा छ।’

निर्मलनिवासले शक्तिको प्रयोग गरेर आफ्नो राजनीति सिध्याउन खोजेको दाबी थापाको थियो। ‘किन त्यत्रो शक्ति प्रयोग गरेर मलाई राजनीतिक रूपमा समाप्त गर्ने आवश्यकता पर्‍यो?,’ उनले प्रश्न गरे। महाधिवेशनभन्दा तीन साताअगाडि पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटवार्ता हुँदा सौहार्दपूर्ण कुराकानी भएको र त्यसलगत्तै व्यवहार राम्रो नभएको दाबी थापाको थियो। १५ वर्ष मैले पार्टी नेतृत्व गरेँ विश्राम गरेको भए पनि हुन्थ्यो। तर कमल थापालाई हराएर राजेन्द्र लिङ्देनलाई स्थापित गर्ने काम मात्र यो महाधिवेशनमा भएको छैन,’ उनले भने, ‘राप्रपामा त हस्तक्षेप भयो अन्य पार्टीमा हस्तक्षेप हुन्न भन्ने के छ। यो प्रश्नको निराकरण हुन जरूरी छ। यो हस्तक्षेपको प्रयोजन के हो, यसको केन्द्रीय नेतृत्वले पहिचान गर्न सक्नुपर्दछ।’

राप्रपालाई रिमोर्ट कन्ट्रोलबाट सञ्चालन गर्न खोजिएको दाबी थापाले गरेका थिए। राप्रपालाई रिमोर्ट कन्ट्रोलबाट सञ्चालन गर्न खोजिएको देखा परिरहेको छ। राजनीतिक शक्तिका रूपमा भन्दा राजसंस्था पुनर्स्थापना गर्ने भजनमण्डली बनाउन खोजिएको छ,’ उनले भने, ‘यो पार्टी पूर्वराजा वीरेन्द्र वा ज्ञानेन्द्रले भनेर बनेको होइन। सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दहरूले अलपत्र परेका पञ्चहरूलाई समेटेर बनाएको हो। ०६३ सालमा अलपत्र बनेका हामी राजावादी पनि यही पार्टीमा रह्यौं। थापाले अध्यक्ष लिङ्देनलाई आफूले उठाएका एजेन्डा छलफल गरी समाधान खोज्न आग्रह गरेका छन्। उनले मंगलबार आफू आफ्नो निर्वाचन क्षेत्रमा जाने र नेतृत्वबाट माग पूरा नहुने हो भने विकल्पहरू खोजिने बताएका छन्।

प्रतिकृया दिनुहोस्