News Portal

महाभियोगबारे एमालेले आवेगमा निर्णय नगर्ने

रातोपोस्ट संवाददाता
६०६ पटक

काठमाडाैँ, २ फागुन । नेकपा एमालेले प्रधानन्यायाधीशमाथि लगाइएको महाभियोगबारे आवेगमा निर्णय नगर्ने देखिएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रन्या चोलेन्द्र शमशेर जबरा विरुद्ध लगाइएको महाभियोग प्रकरणमा आफ्नो पार्टीले आवेग र उत्तेजनामा नभएर सुझबुझपूर्ण रूपमा निर्णय गर्ने बताएका हुन् ।

आइतबार सत्ता गठबन्धनमा आबद्ध दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदले प्रन्या जबरा विरुद्धको महाभियोग प्रस्ताव संघीय संसद् सचिवालयमा दर्ता गरेका थिए । त्यसबारे निर्णय लिन आज एमालेको संसदीय दलको बैठक बसेको थियो ।

बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘यस प्रकरणमा हामी आवेग र उत्तेजनामा आएर निर्णय गर्दैनौँ । नेतृत्वले सुझबुझपूर्ण निर्णय लिनेछ ।’एमाले पहिला सत्ता गठबन्धनको एक्सनबारे बुझेर मात्र आफूले निर्णय गर्ने पक्षमा रहेको बैठकमा सहभागी एक नेताले जानकारी दिए । तत्कालीन परिस्थिति हेरेर लोकतन्त्र र संविधानको पक्षमा आफ्नो पार्टीले निर्णय लिने अध्यक्ष ओलीको भनाइ रहेको ती नेताले बताए ।

बैठकमा एमाले सांसदहरुले पनि आफ्नो धारणा राखेका छन् । एमाले नेतृत्वको सरकारले विघटन गरेको प्रतिनिधि सभा ब्युँताउन प्रन्या जबराले नै परमादेश दिएको भन्दै कतिपय सांसदले अब प्रन्या जबरालाई साथ दिन नसकिने धारणा राखेको बताइएको छ । यद्यपि एमालेले पनि कान्टर स्वरुप सर्वोच्च अदालतको संवैधानिक इजलास अन्य ४ न्यायाधीशमाथि पनि महाभियोग दर्ता गर्ने तयारी गरिरहेको समेत बताइन्छ ।

प्रतिकृया दिनुहोस्