News Portal

एमसीसी पास गराउन देउवाको दौडधुप

रातोपोस्ट
४६४ पटक

काठमाडौं, १२ फागुन । सरकारले अमेरिकी मिलेनियम च्यालेन्ज (एमसीसी) सम्झौता संसद्मा पेस गरेसँगै पारित गराउन सक्रियता बढाएको छ । प्रधानमन्त्रीदेखि कांग्रेसका नेताहरूले सत्ता गठबन्धनभित्र र प्रमुख प्रतिपक्ष दल एमालेसँगको संवादलाई तीव्रता दिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार सत्तारूढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उनकै निवासमै पुगेर एमसीसी पारित गर्न आग्रह गरेका थिए । तर, जवाफमा प्रचण्डले अहिलेकै अवस्थामा एमसीसी पारित गर्न आफ्नो पार्टीले समर्थन गर्न नसक्ने बताए ।

प्रचण्डका स्वकीय सचिव रमेश मल्लले सत्ता गठबन्धन जोगाउन एमसीसी टेबल गर्न सहमति भए पनि पारित गर्न आफ्नो पार्टीको समर्थन नहुने विषय अध्यक्षले स्पष्टसँग राखेको बताए । उनका अनुसार प्रचण्डले एमसीसी सम्झौतालाई संसदीय समितिमा पठाउनु पर्नेमा जोड दिएका थिए । तर, जवाफमा प्रधानमन्त्री देउवाले संसद्मै छलफल गरेर छिट्टै पारित गर्नुपर्नेमा धारणा राखेका थिए । प्रधानमन्त्री देउवाले सत्ता गठबन्धन एकीकृत समाजवादी पार्टीका मन्त्री र सांसदहरूसँग समेत छुट्टाछुट्टै छलफल थालेका छन् ।

एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको एकीकृत समाजवादीभित्र पनि दुई धार देखिएको छ । सत्तारूढ जनता समाजवादीले भने एमसीसीकै पक्षमा मतदान गर्ने तयारी गरेको छ । जसपाले एमसीसीको विषयलाई विरोध जनाएको छैन । नेपाल समाचारपत्र

प्रतिकृया दिनुहोस्