News Portal

वीरगञ्ज महानगर कमिटी अध्यक्ष रहबर अन्सारी माओवादीबाट निष्कासन

रातोपोस्ट संवाददाता
५७५ पटक

वीरगञ्ज, १ वैशाख । नेकपा माओवादी केन्द्रले वीरगञ्ज महानगर कमिटी अध्यक्ष रहबर अन्सारीलाई पार्टीको सधारण सदस्यसमेत नरहनेगरी निष्काशन गरेको छ । बुधबार वीरगञ्जस्थित पार्टी कार्यालयमा भएको तोडफोडको घटनामा संलग्न रहेको भन्दै माओवादी केन्द्रले महानगर अध्यक्ष अन्सारी, उपाध्यक्षद्वय अनुरुद्ध यादव र जुम्मादिन अन्सारीलाई पनि पार्टीबाट निष्काशन गरेको हो ।

महानगर अध्यक्ष अन्सारी आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीको तर्फबाट वीरगञ्ज महानगरको मेयरका आंकाक्षी थिए। उनी २०७४ को निर्वाचनमा पनि माओवादी केन्द्रको तर्फबाट उम्मेदवार बनेका थिए । माओवादी केन्द्रका पर्सा जिल्ला इन्चार्ज विजय महतो र जिल्ला संयोजक रामदरश कुशवाहाले बुधबार साँझ निकालेको विज्ञप्तिमा महानगर अध्यक्ष अन्सारी, उपाध्यक्षद्वय यादव र अन्सारीलाई पार्टीको साधरण सदस्य नरहने गरी निष्काशन गरिएको उल्लेख छ ।

‘देशी विदेशी प्रतिक्रियावादीहरूको इसारामा पार्टीलाइनै बदनाम गराउने कार्य निन्दनीय छ,’ विज्ञप्तिमा भनिएको छ, ‘स्थानीय चुनावमा समेत धक्का पार्ने कार्य, अनुशासनहीन, गुण्डागर्दी, अराजक गतिविधि गर्ने गराउने तीन जनालाई आजकै मितिबाट साधारण सदस्य समेत नरहनेगरी पार्टीबाट निष्कासन गरिएको छ।’

प्रतिकृया दिनुहोस्