News Portal

काँकरभिट्टामा प्रहरीले पायो नयाँ भवन

रातोपोस्ट संवाददाता
२१७ पटक

झापा, ३१ भदौ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाको नवनिर्मित भवनको शुक्रवार प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले उद्घाटन गरेका छन् ।

मन्त्री कार्कीले भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्वको मुख्य सीमा नाकामा अपराधिक घटनाहरु बढी हुने हुँदा त्यसलाई रोक्न प्रहरीलाई चखानो भएर काम लाग्न निर्देशन दिए ।

मन्त्री कार्कीले सुविधा सम्पन्न भवन निर्माण भए पनि प्रहरी नायब उपरीक्षकलगायत सबैलाई आवास आवश्यकता भएको हुँदा प्रदेश सरकारले पहिलो प्राथमिकतामा राखेर आवास निर्माणको कामलाई अघि बढाउने बताए ।

कार्यक्रममा प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक सुदीप गिरी, मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकी, प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा वि.सं २०२३ सालमा काँकरभिट्टा सीमा नाकामा प्रहरी पोस्ट स्थापना गर्ने पूर्व प्रहरी हवल्दार ८६ बर्षीय विर्ख गुरुङलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रहरी उपरीक्षक अनील राणाले प्रदेश सरकारको आर्थिक सहयोगमा रु दुई करोड ८३ लाख ३४ हजार ६४१ को लगातमा अढाई तले पक्की भवन निर्माण भएको बताउनुभयो । वि.संं २०३७ सालमा बनेको पुरानो र जीर्ण भएकाले नयाँ भवन बनाइएको उनको भनाई छ ।

भवनको वि.संं २०७५ साल चैत १९ गते प्रदेशका तात्कालिन आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले शिलान्यास गरेका थिए । सुविधा सम्पन्न २२ कोठे पक्की भवनको निर्माणको ठेक्का याक्थुङ्गहाङ्ग एसएस पुस्कर जेभी निर्माण कम्पनीले लिएको थियो ।

वि.सं. २०७६ बैशाख २ गते कम्पनीले वि.संं २०७७ साल बैशाख १९ गते निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो । यद्यपि कोराना भाइरसका कारण तोकिएको समयमा भवन नबन्दा निर्माण कम्पनीले चौथोपटक म्याद थप गरेर भवन निर्माण सम्पन्न गरेको जनाइएको छ । प्रहरी नायव उपरीक्षक (डिएसपी) ज्ञानकुमार महत्तोले सञ्चालन गरेकाे कार्यक्रममा अध्यक्षता जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले गरेका थिए ।

प्रतिकृया दिनुहोस्