News Portal

राजन चिमरीया सहित झापामा १५ जना उम्मेदवारले लिए नाम फिर्ता

रातोपोस्ट संवाददाता
२७६ पटक

झापा, २६ असोज । आगामी मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका झापाका १५ जना उम्मेदवारले आफ्नो नाम फिर्ता लिएका छन् ।

उम्मेदवारी फिर्ता लिनेहरुमा प्रतिनिधिसभाका ७ र प्रदेशसभाका ८ जना उम्मेदवार रहेका छन् । उम्मेदवारी फिर्ता लिनेहरुमा झापा क्षेत्र नं १ बाट राप्रपा नेपालका तर्फबाट उम्मेदवारी दिने सन्तराज कार्की , १ को प्रदेश ‘ख’ बाट स्वतन्त्र उम्मेदवारी दिने गीताप्रसाद अधिकारी , राजन चिमरिया, क्षेत्र नं २ मा राप्रपा नेपालका तर्फबाट उम्मेदवारी दिने कमलप्रसाद खरेल , स्वतन्त्र उम्मेदवारी दिने अर्पण बस्नेत, क्षेत्र नं ४ मा राप्रपा नेपालका तर्फबाट उम्मेदवारी दिने विजयप्रसाद राजवंशी, स्वतन्त्र उम्मेदवारी दिने खेम नेपाल, ४ को प्रदेश ‘ख’ मा स्वतन्त्र उम्मेदवारी दिने भरत श्रेष्ठ रहेका छन् ।

त्यस्तै क्षेत्र नं ५ मा ७ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । क्षेत्र नं ५ मा प्रतिनिधिसभा निर्वाचनतर्फ २ जना तथा ५ को ‘क’ मा १ जना र ‘ख’ मा ४ जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । झापामा २०७ जनाले उम्मेदवारी दर्ता गराएका थिए । प्रतिनिधिसभा निर्वाचनका लागि १०१ र प्रदेशसभा निर्वाचनका लागि १०६ जनाले उम्मेदवारी दर्ता गराएका थिए । निर्वाचन आयोगले आगामी मंसिर ४ को निर्वाचनका लागि प्रत्यक्षतर्फ मनोनयन दर्ता गराएका उम्मेदवारका लागि मनोनयन फिर्ता लिने समय दिएको थियो ।

आयोगका अनुसार प्रतिनिधिसभा तथा प्रदेशसभाको प्रत्यक्षतर्फ उम्मेदवारी दिएका व्यक्तिले आज १० बजेदेखि दिउँसो १ बजेसम्म आफ्नो उम्मेदवारी फिर्ता लिन सक्नेगरी समय तोकिएको थियो ।

आयोगले आजै उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक गर्दैछ। उम्मेदवारी फिर्ता र खारेजीपछि कायम रहेका उम्मेदवारहरुको अन्तिम नामावली आयोगले आज दिउँसो १ देखि ३ बजेसम्ममा प्रकाशन गर्नेछ।अन्तिम नामावली प्रकाशन भएसँगै उम्मेदवारहरुले आजै आफ्नो चुनाव चिह्न पनि पाउनेछन्।

प्रतिकृया दिनुहोस्