News Portal

सामान्य प्रशासनमन्त्रीको टिप्पणी : कर्मचारीले काम नगर्दा जनताको आक्रोश दलमाथि खनियो

रातोपोस्ट संवाददाता
१८८ पटक

काठमाडौं, १५ बैशाख । सामान्य प्रशासन तथा संघीय मामिलामन्त्री अमललाल मोदीले सरकारी कर्मचारीहरूले सरकारको नीति अनुसार काम नगर्दा जनताको आक्रोश राजनीतिक दलमाथि खनिएको टिप्पणी गरेका छन् । शुक्रबार काठमाडौंमा नेपाल आयल निगम कर्मचारी संघको नौं राष्ट्रिय महाधिवेसनमा बोल्दै मन्त्री मोदीले यस्तो बताएका हुन् ।

उनले सरकारी कर्मचारीहरूले सरकारको नीति अनुसार जनतालाई दिने सार्वजनिक सेवा सहज रुपमा दिन नसक्दा सरकारले आलोचना आउने गरेको भन्दै कर्मचारीहरूले जनता सकारात्मक हुनेगरी काम गर्नु आग्रह गरे । उनले पछिल्लो उपनिर्वाचनको परिणाम कर्मचारीहरूले सरकारले दिएका सेवाहरूको जनतालाई सकारात्मक बनाउन नसक्दाको परिणाम भएको उल्लेख गरे । मन्त्री मोदीले विभिन्न राजनीतिक आन्दोलनबाट बनेका राजनीतिक दलका नेताहरूको संघर्षलाई समेत कर्मचारीहरूले काम नगर्दा उनीहरूको योगदान पानीको फोका जस्तै फुटेर जाने अवस्था देखिएको बताए । उनले सरकारले गरेका काम कर्मचारीहरूमार्फत जनतामा सकारात्मक रुपमा जान नसक्दा जनताले विकल्पहरू खोज्न थालेको उल्लेख गरे ।

मन्त्री मोदीले अहिले नै जादुको छडीबाट समाज परिर्वतन भइहाल्ने जस्तो सोच र दृष्टिकोणबाट जनमत बिग्रन थालेको बताए । उनले कर्मचारीहरूले सत्य कुरा जनतालाई बुझाउन नसक्दा आफूभन्दा उमेरले पाकालाई युवा नेता देख्न थालेको टिप्पणी गरे । उनले जनताले भगवान ठानेकाहरू कुनै अन्तरिक्ष वा नयाँ फ्याक्ट्रीबाट आएका नभएर यही समाजमा उत्पन्न भएका मान्छेहरू भएकाले उनीहरूले मात्रै गर्छन् भन्ने भ्रममा पर्न नहुने बताए ।

प्रतिकृया दिनुहोस्