News Portal

रास्वपाका कार्यकर्तामाथि अश्रुग्यास प्रहार

रातोपोस्ट संवाददाता
६९ पटक

पोखरा, २० कार्तिक । कास्कीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्तामाथि अश्रुग्यास प्रहार भएको छ। जिल्ला प्रशासन कार्यालय कास्कीले तोकेको निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले रास्वपा कार्यकर्तामाथि अश्रुग्यास प्रहार गरेको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए।

मंगलबार मध्यान्हमा वाई चोकमा प्रदर्शन गरिरहेका कार्यकर्ताले निषेधित क्षेत्र तोड्न खोजेपछि अश्रुग्यास प्रहार भएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए। उनका अनुसार निषेधित क्षेत्र तोड्न खोज्दा भीडलाई तितरबितर पार्नका लागि चार सेल अश्रुग्यास प्रहार गरिएको हो। रास्वपा सभापति रवि लामिछाने, पूर्व डिआइजी छविलाल जोशी लगायतलाई मंगलबार जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ।

त्यही क्रममा रास्वपा कार्यकर्ताहरूले रवि लामिछाने पक्राउको विरोधमा प्रदर्शन गरेको हो। पूर्वगृहमन्त्रीसमेत रहेका सभापति लामिछाने पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका हुन्। उनी कात्तिक २ गते पक्राउ परेका हुन्। सभापति पक्राउ परेदेखि नै राजनीतिक पूर्वाग्रह राखिएको भन्दै रास्वपा नेता, कार्यकर्ताले विरोध प्रदर्शन गर्दै आएका छन्। आज लामिछानेलाई म्याद थपका लागि तेस्रोपटक अदालत उपस्थित गराउनेबेला बाहिर उनका कार्यकर्ताहरुले प्रदर्शन गरेका हुन्।

प्रतिकृया दिनुहोस्