News Portal

परिस्थिति बिथोल्न खोजे सरकार, नेकपाका कार्यकर्ता र जनतालाई स्वीकार्य हुँदैनः प्रधानमन्त्री ओली

रातोपोस्ट संवाददाता
६४६ पटक

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले अबका सबै प्रयास स्वस्थ नागरिक, सीपयुक्त नागरिक, मर्यादित काम र सामाजिक सुरक्षातर्फ केन्द्रित हुने बताएका छन् ।

अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा एक भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले कोरोना महामारी विरुद्धको लडाईमा एक हुँदै श्रमिकको रोजगारी, आय र सामाजिक सुरक्षा सुनिश्चित गर्ने दिशातर्फ सम्पूर्ण प्रयास केन्द्रित हुने बताएका हुन् ।

उनले सबैभन्दा पहिले टुटेको उत्पादन सम्बन्धको कडीलाई जोड्ने र अवरुद्ध उत्पादन प्रणालीलाई सुचारु गरिने बताएका छन् ।

प्रधानमन्त्री ओलीले घरमुलीले अनिकालमा पनि परिवारलाई भोकै नराख्ने उल्लेख गर्दै आफू नेतृत्वको सरकारले भ्याएसम्म सुविधाको जोगावट गर्ने बताएका छन् ।

‘घरमुलीले अनिकालमा पनि परिवारलाई भोकै राख्दैन, रुखोसुखो भरणपोषणको जोगावट गर्छ र व्यवहार चलाउँछ । तपाईँहरुको यस प्रधानमन्त्रीले नेतृत्व गरेको सरकारले पनि उपलब्ध स्रोत र साधनले भ्याएसम्म सुविधाको जोगावट गर्छ’, प्रधानमन्त्रीले भनेका छन् ।

यस्तै प्रधानमन्त्री ओलीले मुलुकलाई अस्थिरतातर्फ धलेल्ने प्रयास भइरहेको र ती प्रयासमा केही सञ्चार माध्यमहरु पनि सहभागी भएको आरोप लगाएका छन् ।

‘आज नेपालका केही सञ्चार माध्यमहरु र सामाजिक सञ्जालहरुमा पनि स्थिरता, स्थायित्व र विकासका विरुद्ध देशलाई अस्थिरतातर्फ धकेल्ने प्रकृतिका प्रयासहरुको समाचार सम्प्रेषण र चर्चा भइरहेको देखिन्छ । एकातिर सम्पूर्ण नेपाली जनता र सिंगै विश्व कोरोना महामारीका विरुद्ध लडिरहेको अवस्था छ, अर्कातिर यही अप्ठ्यारो परिस्थितिलाई मौका छोपेर अस्थितरताका त्यस्ता प्रयासहरु गरिनु दुःखद् कुरा हो’, प्रधानमन्त्रीले भनेका छन् ।

मुलुकको वर्तमान परिस्थितिलाई कसैले बिथोल्न खोजे सरकार नेकपाका कार्यकर्ता र आम नेपाली जनताले किमार्थ स्वीकार नगर्ने प्रधानमन्त्रीले बताएका छन् ।

उनले भनेका छन्, ‘आफ्ना ससाना स्वार्थ वा कुनै गलत उद्देश्यका साथ कसैले यस परिस्थितिलाई बिथोल्न र बिगार्न खोज्छ भने सरकार, नेकपाका कार्यकर्ता र आम नेपाली जनतालाई यो किमार्थ स्वीकार्य हुँदैन । त्यस्ता प्रयासलाई सफल हुन दिइने छैन भन्नेमा म सबैलाई आश्वस्त पनि पार्न चाहन्छु ।’

प्रतिकृया दिनुहोस्