News Portal

श्रीलंकामा आज राष्ट्रपति निर्वाचन, विक्रमासिंघेविरुद्ध लड्दै डुल्लास र दासनायके

एजेन्सी
३२७ पटक

काठमाडाैँ, ४ श्रावण । श्रीलंकामा आज राष्ट्रपति निर्वाचन हुँदैछ। बढ्दो आर्थिक संकट र सरकारविरुद्ध प्रदर्शनबिच राष्ट्रपति गोताबाय राजपाक्षे विदेश पलायन भएपछि सांसदहरु नयाँ राष्ट्रपति छनोटमा जुटेका हुन्। गोताबायले विदेशबाटै राजीनामा दिएका थिए। त्यसपछि प्रधानमन्त्री रनिल विक्रमासिंघे कार्यवाहक राष्ट्रपति बनेका थिए।

राष्ट्रपति पदका लागि तीनजनाले उम्मेदवारी दिएका छन्। कार्यवाहक राष्ट्रपति रनिल पनि चुनावी दौडमा छन्। उनीविरुद्ध उत्रेका छन् डुल्लास अलाहप्पेरुमा र अनुरा कुमार दासनायके। डुल्लास सत्तारुढ सांसद भए पनि उनलाई विपक्षी दलको साथ छ। दासनायके नेश्नल पिपल्स पावर पार्टीका नेता हुन्। सजिथ प्रेमदासले पनि निर्वाचन लड्ने बताइएको थियो। तर, अन्तिम समयमा उनले निर्वाचन नलड्ने घोषणा गरे। साजिथले आफ्नो पार्टीले डुल्लासलाई समर्थन गर्ने बताएका छन्। डुल्लास राजपाक्षे सरकारमा मन्त्री पनि थिए। पछि उनले राजीनामा दिएका थिए।

बुधवार २२५ जना सांसदले राष्ट्रपति चुन्न मतदान गर्नेछन्। तीनजना मध्ये राष्ट्रपतिका लागि विक्रमासिंघेको सम्भावना धेरै रहेको बताइन्छ। उनी ६ पटक श्रीलंकाका प्रधानमन्त्री बनिसके। तर, उनले एकपटक पनि पूर्ण कार्यकाल काम गर्न पाएका छैनन्।विक्रमासिंघे राष्ट्रपति बने श्रीलंकामा जारी प्रदर्शन नरोकिने केही आन्दोलनकारीहरुले बताएका छन्। आन्दोलनकारीहरुले राजपाक्षे र विक्रमासिंघे सत्तामा रहेसम्म प्रदर्शन गर्ने बताउँदै आएका छन्।

प्रतिकृया दिनुहोस्