News Portal

मेसी बने सन् २०२३ को फिफा उत्कृष्ट पुरुष खेलाडी

रातोपोस्ट संवाददाता
१४८ पटक

काठमाडौँ, २ माघ । ३६ वर्षीय अर्जेन्टिनी खेलाडी लियोनल मेसीले वर्ष २०२३ को फिफा उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जितेका छन् । गएराति लण्डनमा भएको छनोटमा मेसीले केलियन एम्बाप्पे र म्यानचेस्टर सिटीका स्ट्राइकर एर्लिङ हालान्डलाई पछि पार्दै अवार्ड जितेका हुन् । मेसीको यो तेस्रो अवार्ड हो ।

यसअघि सन् २०१९ र २०२२ मा पनि उनले फिफा उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जितेका थिए । मेस्सीले गत जुनमा मेजर लिग सकर (एमएलएस) क्लब इन्टर मियामीमा सर्नु अघि पेरिस सेन्ट जर्मेनबाट सन् २०२३ सुरु गरेका थिए ।

यसैगरी, म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओला उत्कृष्ट पुरुष प्रशिक्षक भएका छन् भने म्यानचेष्टर सिटीकै गोलकिपर इडर्सन उत्कृष्ट गोलकिपर घोषित भए । रियल म्याड्रिडका थिबाउट कोर्टोइस र अल हिलालका यासिन बोनोउलाई पछि पार्दै उनले गोलकिपरको अवार्ड जितेका हुन् ।

यसैगरी फिफाको वर्षको उत्कृष्ट टोलीमा सिटीका ६ खेलाडीले स्थान बनाएका छन् । स्ट्राइकर हाल्यान्डसँगै केभिन डे ब्रुयना, बर्नान्डो सिल्भा, रुवेन डिआज, केली वाल्कर र जोन स्टोनस छन् । सिटीले २०२२-२३ मा प्रिमियर लिग, च्याम्पियन्स लिग र एफए कपको ट्रेबल जितेको थियो।

प्रतिकृया दिनुहोस्