News Portal

घुससहित पक्राउ परेका वडाअध्यक्ष ओली निलम्बनमा

रातोपोस्ट संवाददाता
२०० पटक

झापा, १० असोज । झापाको बुद्धशान्ति गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष डिल्लीप्रसाद ओली निलम्बित भएका छन्। सेवाग्राहीसँग घुस लिँदा लिँदै बिर्तामोडको हनुमान कम्प्लेक्स अगाडि रङ्गेहात पक्राउ परेका ओली निलम्बनमा परेका हुन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले विशेष अदालतमा मुद्दा दर्ता गरेसँगै ओलीलाई निलम्बन गरिएको हो।

वडा अध्यक्ष ओलीले भारतीय नागरिक अमरनाथ चौहानसँग ८० हजार घुस लिँदा लिँदै रङ्गेहात पक्राउ परेका थिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १६ को उपदफा ४ बमोजिम विशेष अदालत काठमाडौँबाट म्याद थप भई आएको र थुनामा रहेका ओलीलाई थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसन्धान अधिकृत ज्ञानमञ्जरी शर्माले जनाएका छन्।

सार्वजनिक पद धारण गरेका राष्ट्रसेवक अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १७ तथा भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३३ बमोजिम स्वत निलम्बनमा रहने कानुनी प्रावधान रहेकाले वडा अध्यक्ष ओलीलाई निलम्बन गरिएको बताइएको छ।

प्रतिकृया दिनुहोस्