News Portal

भद्रपुर–धुलाबारी जोड्ने हडिया नदीको पुल भत्कियो

रातोपोस्ट संवाददाता
३५ पटक

झापा, ४ मंसिर । जिल्लाको सदरमुकाम भद्रपुर–धुलाबारी जोड्ने हडिया नदी माथिको पक्की पुल भत्किएको छ । भद्रपुर सीमा छेउमै यसअघि भ्वाङ परेको पुल भत्किएपछि चार दिन देखि सवारीसाधन ओहोरदोहोर ठप्प बनेको छ । जसकारण चार पाङग्रे सवारीसाधन सदरमुकाम पुग्न लामो दुरीको यात्रा गर्न बाध्य बनेको छ ।

भद्रपुर–९ र मेचीनगर–१५ का सडक सञ्जालसँग जोडिएको हडिया नदीमाथि २०६८ सालमा पक्की पुलमा निर्माण गरिएको थियो । त्यही बेला पुलको दायाँबायाँ तटबन्ध निर्माण नहुँदा सञ्चालनमा आएको केही वर्षभित्रै एक लेनको साँघुरो पुल जीर्ण बनेको थियो । भ्वाङ अर्थात् प्वाल परेको पुलको समयमै मर्मत सम्भार नगरिँदा अहिले आएर पुल नै भत्किएको हो । भ्वाङ परेको पुलमाथि कयौँ दुर्घटनाहरू भइसकेको छ । ‘अहिले त पुल नै भत्कियो, स्थानीय रामवीर राजवंशीले भने, ‘दुई लेनको सडकमा एक लेन भएको पुलको कामै छैन, अब यहाँ नयाँ बनाउनुपर्छ ।’ दिनभरि त भत्किएकै पुल छेउबाट सर्वसाधारण, साइकल यात्री, मोटरसाइकल, ट्याम्पो र सिटीसफारी जसोतसो आउजाउ गरिरहेको छ । त्यो यात्रा पनि जोखिमपूर्ण छ । ‘राती यसले दुर्घटना निम्ताउन सक्छ,’ उनले थपे ।

सरकारले २ करोड २१ लाख रुपैयाँको लागतमा २०६५ सालमा पुल निर्माण गर्न ठेक्का लगाएको थियो । सो पुल बनाउन झन्डै तीन वर्ष बढी लागेको थियो । पुल भत्किएर आउजाउमा समस्या उत्पन्न भएपछि भद्रपुर नगर प्रमुख गणेश पोखरेल, मेचीनगर नगर प्रमुख गोपालचन्द्र बुढाथोकी, जनप्रतिनिधि, कर्मचारी लगायतको टोलीले आइतबार बिहान पुलको स्थलगत अनुगमन गरेका थिए । पुलको तलैबाट ठुलै भ्वाङ परेको छ । ‘त्यो नगरपालिकाको एक÷दुई लाख बजेटले नबन्ने देखियो, भद्रपुर नगर प्रमुख पोखरेलले भने, ‘तत्काल पुल मर्मत सम्भार गरी सञ्चालन ल्याउन सोमबार कोशी प्रदेश सरकारका मन्त्रीलाई भेटेर जानकारी गराइसकेका छौँ ।’ पुल मर्मत सम्भारका लागि प्रदेश सरकार सकारात्मक रहेको र चाडै पुल सञ्चालनमा आउने उनको भनाई छ ।
हालको पुल साँघुरोसँगै जीर्ण बनिसकेकोले त्यही नयाँ पुल निर्माणका लागि चालु आर्थिक वर्षमा सङ्घीय सरकारबाट एक करोड २५ लाख रुपैयाँ बजेट विनियोजन भइसकेको छ । अब चाँडै ठेक्का प्रक्रियाबाट पुलको काम अघि बढ्ने जानकारी प्राप्त भएको उनको भनाई छ ।

धुलाबारी, ज्यामिरगढी, बाहुनडाँगी, शान्तिनगर, दक्षिणी इलामका अधिकांश पालिका साथै भारतको पश्चिम बङ्गालका दार्जिलिङ, सिलिगुडी, सिक्किमलगायतका क्षेत्रबाट आउने सर्वसाधारणलाई भद्रपुर विमानस्थल, प्रादेशिक अस्पताल, मेची बहुमुखी क्याम्पस र सरकारी कामकाजका लागि जान यो सडक एकदमै सहज बनेको छ । तर, पुल भत्किँदा अहिले सर्वसाधारणलाई सास्ती झेल्नु परेको स्थानीयको गुनासो छ । कोशी सरकारले समेत गौरवको मुख्य परियोजना अन्तरगत धुलाबारीबाट–भद्रपुर सीमासम्मको ९ किलोमिटर कालोपत्रे सडक २५ करोड ३२ लाख ८४ हजार रुपैयाँमा निर्माणसमेत गरिदिएको छ ।

प्रतिकृया दिनुहोस्