News Portal

चारआली खानेपानीमा लाग्यो, चुनाव त्रिपक्षीय भिडन्तको सम्भावना

रातोपोस्ट संवाददाता
१५४ पटक

मेचीनगर, २५ कार्तिक । चारआली साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आसन्न निर्वाचनमा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । संस्थाको यही मंसिर १ गते नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुँदैछ । निर्वाचन अघि शनिबार सहमतिको प्रयास स्वरुप समन्वयको छलफल राखिएको थियो । तर, सहमति हुन सकेन । निर्वाचनका लागि नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र छुट्टाछुट्टै प्यानल बनाएर मैदानमा उत्रने तयारीमा छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, संघीय लिम्बुवान लगायतका दल अहिले पर्ख र हेरको अवस्थामा रहेको समन्वय छलफलमा रहेका एक प्रतिनिधिले जानकारी दिए । यद्यपी माओवादी प्यानलबाट अध्यक्षका उम्मेदवार बन्न लागेका राजन चिमरियालाई यी दलहरुको समर्थन रहेको बुझिएको छ । चिमरिया नेकपा माओवादी केन्द्र मेचीनगरका अध्यक्ष पनि हुन् । यसैगरी, चुनावी प्रतिस्पर्धामा नेपाली कांग्रेसले बालकुमार विष्टलाई अध्यक्षको उम्मेदवार बनाउने बुझिएको छ भने नेकपा एमालेले सन्तोष मेचेलाई अध्यक्षका उम्मेदवारका रुपमा अघि सार्ने तय भएको बुझिएको छ ।

निर्वाचनका लागि आइतबार उम्मेदवारी दर्ताको कार्यक्रम छ । उम्मेदवारी दर्ता पश्चात भने कसले कसलाई समर्थन गर्ने र कुन पार्टीले कुन प्यानल बनाएर अघि बढ्ने भन्नेबारे स्पस्ट हुने राष्ट्रिय स्वतन्त्र पार्टीका समन्वयकर्ता प्रेमराज घिमिरेले जानकारी दिए । नेकपा एमालेबाट अध्यक्षका उम्मेदवारका रुपमा अघि सारिएका मेचे मेचीनगर–११ पूर्ववडाध्यक्ष समेत हुन् ।

संस्थाको आगामी चुनावमा मेचीनगर नगरपालिका ११, १२, १३ र १४ न. वडाका २ हजार ६ सय ९६ मतदाताले मतदान गर्ने निर्वाचन समिति संयोजक सन्तोष न्यौपानेले जानकारी दिए ।

शनिबार भएको समन्वयात्मक छलफलमा नेकपा माओवादी केन्द्रबाट अध्यक्षका उम्मेदवार बन्न लागेका चिमरियाका पक्षमा सहमतिको सम्भावना थियो । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, संघीय लिम्बुवान लगायतका दलको समर्थन थियो । तर, नेकपा एमाले र नेपाली कांग्रेसको समर्थन हुन सकेन । तत्पश्चात छलफल सम्पन्न भएको एक विश्वसनीय स्रोतले बतायो । अब भने निर्वाचनबाटै नेतृत्व चयन हुने निश्चित भएको स्रोतले जनाएको छ ।

प्रतिकृया दिनुहोस्