News Portal

काँकरभिट्टाका देशबहादुर

नवराज सुवेदी
१२० पटक

मेचीनगर । मध्य दिनको पारिलो घाम, पूर्वबाट आउने शितल हावाको आभाससँगै हातमा खुकुरी लिएर चोया काड्दैछन् उनी । फुलेर सेतो छ कपाल, कालो गञ्जी र सेतो हाफपाइन्टमा भेटिएका उनलाई डोको बुन्नका लागि चाहिने चोया काड्नको चटारो छ र त्यसैमा व्यस्त छन् ‘लिम्बु दाई’ अर्थात देशबहादुर लिम्बु । उमेरले ६४ टेकिसकेका उनी यसैगरी काँकरभिट्टा दक्षिणको एक घरमा सँधै व्यस्त भेटिन्छन् । तेह्रथुम जिल्लाको कोवेत भन्ने स्थानमा जन्मिएका उनले बाल्यकालबाटै बाँसको काम सिके । जसले उनलाई जीवनको हरेक घुम्तीहरुमा पछ्याइरह्यो । र त आज पनि उनी यही बाँसका चोयासँग जीवनको बुढेसकालमा रमाइरहेका छन् ।

‘बाल्यकालै मेरो पहाडमा बित्यो । त्यसैले अरुले बुनेको देखेर डोको, डालो, घुम बुन्न मैले पनि सानै छँदा सिकेँ, आज यही सीप बुढेसकालको सहारा बन्यो,’ लिम्बु लवजमा बोल्ने उनी भन्छन्, ‘पहाडे हलो, कोदालो बनाउन पनि आउँछ नि तर, के गर्नु मधेसमा यसको काम रहेनछ ।’ उनी अहिले काँकरभिट्टामा ‘लिम्बु दाइ’का नामले परिचित छन् । जुन नामले काँकरभिट्टा क्षेत्रमा उनको परिचय बटुलिए पनि उनको कामको चर्चा भने बस्ती–बस्तीसम्मै पुगेको छ । किनभने उनी डोको लिएर टाढाटाढाका बस्तीसम्मै पुग्छन् । अनि डोकोसँगै पुर्याउँछन् आफ्नो सीप पनि गाउँगाउँमा ।

‘सहरमा डोको, डालो बिक्दैन, त्यसैले गाउँगाउँ नै पुगेर बेच्ने गरेको छु । चन्द्रगढी, भद्रपुर, भृकुटी, बाहुनडाँगी लगायतका गाउँसम्म पुग्छु,’ आफ्नो कर्म सुनाउँदै उनी भन्छन् । २०४५ सालमा पहाडबाट मधेश झरेका उनी जीवनको अनेक आरोह–अवरोह पन्छाउँदै सीमावर्ती सहर काँकरभिट्टा आइपुगे । उमेरले लक्काजवान थिए त्यतिबेला । जीवन कटाउने शिलशिलामा कहाँ कहाँ चाहिँ पुगेनन् ? भारतको सिक्किम पुगेर रोड बनाउने काम गर्न समेत भ्याए उनले । त्यसबेला देश बुझ्ने मौका पाए । सहर के हो ? सहर भित्रको रहर के हो ? यी सबै भोगिसकेका उनी आज भने उही बाल्यकालको सीप अँगालेर काँकरभिट्टाको साठीबिगे भन्ने ठाउँमा भेटिन्छन् ।

‘सिक्किम पुगेर पो काम गरिएन कि ! दार्जिलिङ, सिलिगुडी सप्पै । तर, आफ्नो ठाउँ, आफ्नो माटो आफ्नै हुन्छ । बिरानो सहर त उमेर रहुन्जेल न हो !,’ मनका भावहरु पेखिन्छन् उनका । आजको उनको दैनिकिसँगै परिवार चलाउने आधार नै बनेको छ त्यही सीप जुन उनले ६ बर्षको हुँदै जानेका थिए । ४५ सालमा काँकरभिट्टा टेक्दा यस सहरको स्वरुप कस्तो थियो ? सायदै, अहिलेजस्तो बाक्लो रुपमा घरहरु बन्निएका थिएनन्, बन्निए पनि अहिलेजस्तो गगनचुम्बी भवनहरु थिएनन् । बजारको सुरुवात थियो, आजको जस्तो गल्ली नै पिच्छे दोकानका लस्कर थिएनन् । तर, काँकरभिट्टा पहिले जस्तो रहेन । यस सहरले आफ्नो स्वरुप नै बदल्यो ।

तर, देशबहादुर ! उनको जीवन सँधै संघर्षको दौरानमा बित्यो । ‘जिन्दगी भनेकै यहि त हो नि ! कहिले सुख कहिले दुःख । बस हार चाहिँ मान्नु हुँदैन,’ उनले आज पनि हिम्मत हारेका छैनन् । डोको बुनेरै महिनाको १२–१३ हजार कमाउने गरेको उनी सुनाउँछन् । तर, अहिले डोकोको बजार पहिलेको जस्तो छैन । गाउँगाउँमै लगेर दिँदा पनि ग्राहकले सस्तो खोज्ने गरेको उनी बताउँछन् । ‘सहरमा डोको चाहिँदैन । गाउँमा बिक्ने हो, त्यहाँ पनि सस्तो खोज्छन् । आजकल एउटा डोको तीन सय रुपैयाँ गोटामा बेच्ने गरेको छु ।’ डोको बुन्नका लागि चाहिने बाँस पनि महँगियो । पहिले पहिले ६० रुपैयाँमै पाइने बाँस आजभोलि दुई सय रुपैयाँमा किन्नुपरेको सुनाउँछन् उनी ।

तर पनि डोको, खुँगी बनाएर बेचेरै परिवार चलाएका उनको परिवारमा श्रीमती र उनी मात्रै छन् । छोरीहरु भएपनि विवाह गएर आ–आफ्नो घर गएपछि श्रीमती र उनको बुढेसकालको सहारा नै बनेको छ उनको यही डोकोको दैनिकी । जसबाट उनी न कहिल्यै हार माने न सायदै मान्ने छन् । भन्छन्, ‘लिम्बुको छोरो पो हुँ त त्यति सजिलै कहाँ हार मान्छु र ?’ कुराकानीको अन्तमा उनले सिक्किममा छँदाको एउटा किस्सा सुनाए । उनी आफ्नै परदेशी जिन्दगीमा व्यस्त थिए । जसक्रममा एकजना डोको, डालो बेच्ने साथीसँग उनको चिनजान पनि थियो । समय बित्दै जाँदा उनको साथी सिक्किमको स्थानीय सरकारद्वारा नगदसहित सम्मानित भएको खबर उनले सुनेका थिए ।

अर्थात डोको, डालो बुन्ने नागरिकलाई त्यहाँको सरकारले प्रोत्साहन गरेको खबर उनले सुनेका थिए । के त्यसैगरी हाम्रो पनि स्थानीय सरकारले परम्परागत सीपशैली बचाएका तथा त्यसकै सहारामा परिवार चलाइरहेका देशबहादुर तथा देशबहादुर जस्तालाई प्रोत्साहन गर्ला त ? बोर्डरल्यान्ड दैनिकबाट

प्रतिकृया दिनुहोस्