News Portal

आयोजकले जित्यो रोलिङ च्यालेन्ज कपको उपाधि

रातोपोस्ट संवाददाता
६० पटक

झापा, ११ कार्तिक । झापाको धुलाबारीमा सम्पन्न आठौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण रोलिङ च्यालेन्ज कपको उपाधि आयोजक रोलिङ क्लबले जितेको छ । मेचीनगरको धुलाबारीमा शनिबार भएको फाइनल खेलमा पाहुना टोली भारतको मानेभञ्ज्याङ फुटबल क्लबलाई आयोजक रोलिङ क्लवले टाइब्रेकरमा पराजित गरेको हो । टाइब्रेकरमा रोलिङ क्लबले मानेभञ्ज्याङलाई ३–१ गोल अन्तरले जित निकालेको हो ।

खेलको ४२ औँ मिनेटमा रोलिङ क्लबका लागि रोहण कार्कीले पहिलो गोल गरेका थिए । मानेभञ्ज्याङका लागि ६६औँ मिनेटमा कप्तान सोनाम जङ्पोले एक गोल गर्दै खेललाई बराबरीमा पुर्याएका थिए । फाइनल खेलको प्लेयर अफ दी म्याच रोलिङ क्लबका गोल रक्षक युवराज पुरीलाई प्रदान गरिएको थियो । उहाँलाई नगद रु पाँच हजार र ट्रफी दिइएको थियो ।

उपाधि विजेता रोलिङ क्लबले नगद रु तीन लाख, ट्रफी र मेडल प्राप्त गर्यो भने उपविजेता मानेभञ्ज्याङले नगद रु एक लाख ५० हजार, ट्रफी र मेडल प्राप्त गरेको थियो । प्रतियोगिता अवधिभरको उत्कृष्ट गोलरक्षक रोलिङ क्लबका अभिषेक बराल, उत्कृष्ट डिफेन्डर रोलिङ क्लवका सेमन्त थापा, उत्कृष्ट मिडफिल्डर मानेभञ्ज्याङका रोबर्ट, उदीयमान खेलाडी रोलिङ क्लबका नीरज कार्की, उच्च गोलकर्ता रोलिङ क्लवका उत्सव राई र प्रशिक्षक रोलिङ क्लबका सचिन्द्र धिमाल भए । रोलिङ क्लवका रोहण कार्की सर्वोत्कृष्ट खेलाडीको रुपमा पुरस्कृत भए । कात्तिक ३ गते सुरु भएको प्रतियोगितामा नेपाल र भारतका जम्मा आठ वटा टोलीको सहभागिता रहेको थियो ।

विजेता तथा उपविजेतालाई प्रमुख अतिथि कोशी प्रदेशसभा सदस्य गोपाल तामाङ, अर्जुनधारा नगरप्रमुख बलदेवसिंह गोम्देन, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नरेन्द्रकुमार खड्का, मेची उद्योग वाणिज्य संघका अध्यक्ष खेमराज प्रसाईं, क्लबका अध्यक्ष नोबेम्बर नेम्वाङ, क्लबका पूर्व अध्यक्ष शंकर वस्नेत लगायतले पुरस्कार वितरण गरेका थिए । क्लबका उपाध्यक्ष इन्द्र आङदेम्बेले स्वागत गरेको कार्यक्रमको सञ्चालन क्लबका सचिव महेश खड्काले गरेका थिए ।

प्रतिकृया दिनुहोस्