News Portal

बिरिङ खोलामा छठ पूजाको तयारी पूरा

रातोपोस्ट संवाददाता
६५ पटक

झापा, २० कात्तिक । झापाको बिरिङ खोला किनारमा आयोजना गरिने छठ पूजाको तयारी पूरा भएको छ । आज बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै छठ समाज सेवा समिति बिर्तामोडले पूजाका लागि आवश्यक तयारी पूरा भएको जनाएको हो । छठ समाज सेवा समिति बिर्तामोडले २०७१ सालदेखि बिरिङ खोलाको किनारमा पूजा आयोजना गर्दै आएको कार्यक्रम संयोजक राजकुमार गुप्ताले जानकारी दिए ।

उनका अनुसार त्यसअघि बिर्तामोडस्थित अदुवा खोलामा पूजा गर्ने गरिन्थ्यो । पूजा गर्नेहरुको संख्या बढ्दै गएपछि बिरिङमा पूजा गर्न थालिएको हो । छठ समाज सेवा समिति बिर्तामोडका अध्यक्ष रामेश्वर द्विवेदीले यो वर्षको छठ विगत वर्षहरुको भन्दा भव्य हुने बताएका छन् । उनले गत वर्ष ३०० रहेको छठ पूजा गर्ने घाटको संख्या ४०० पुर्‍याउने जानकारी दिए । उनले बर्सेनि छठ पूजाको लागि व्रत बस्नेहरुको संख्या बढ्दै गएको जानकारी दिएका छन् । छठ पुजा सम्पन्न गर्न विभिन्न उपसमितिहरु समेत गठन गरिएको उनको भनाइ छ ।

छठ पूजालाई सुरक्षित र व्यवस्थित बनाइने समितिका पूर्वअध्यक्ष घनश्याम चौधरीले जानकारी दिए । उनले ट्राफिक व्यवस्थापनदेखि पार्किङसम्मको व्यवस्थापनलाई व्यवस्थित गरिने बताए । बिरिङमा बिर्तामोड, चारपाने, लक्ष्मीपुर र दुर्गापुरका व्रतालुहरुले पूजा गर्ने महासचिव अशोककुमार चौधरीले जानकारी दिए । पूजा सम्पन्न गर्नका लागि १२ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । कार्यक्रम अनुसार बिहीबार दिउँसो ३ बजे बृहत सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ । बिहीबार साँझ अस्ताउँदो सूर्य र शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ पूजा सम्पन्न गरिनेछ ।

प्रतिकृया दिनुहोस्