झापा, ४ फागुन । एमसीसी सम्झौता संसद्मा टेबुल गर्न नहुने माग राखेर बन्द गराउन खोज्ने चार जना बन्दकर्ता झापामा पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका एक जना र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका तीन जना रहेका छन् । पूर्व पश्चिम राजमार्गमा टायर बालेर बन्द गराउन खोज्ने उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी वसन्त पाठकले बताए ।
कनकाईको दुर्गापुरबाट वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका तीन जना र काँकडभिट्टाको काली खोलाबाट विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका एक जना कार्यकर्ता पक्राउ परेको उनले जानकारी दिए । काली खोलाबाट विप्लवका दुई जना कार्यकर्ता पक्राउ परेकोमा एक जना बिरामी भएकाले छोडिएको डिएसपी पाठकले जानकारी दिए । झापामा बन्दको खासै प्रभाव परेको छैन ।
एमसीसी सम्झौता संसद्मा टेबुल गर्न नहुने माग राखेर विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, नेकपा, नेकपा (क्रान्तिकारी माओवादी), देशभक्त जनगणतान्त्रिक मोर्चा, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र नेकपा माओवादी केन्द्र समाजवादीले आज बन्द आयोजना गरेका हुन् ।