News Portal

रणनीति बनाउँदै कांग्रेस : गृहमन्त्री लामिछानेको राजीनामा माग्ने

रातोपोस्ट संवाददाता
१२१ पटक

काठमाडौं, ९ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक सानेपामा सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठकको मुख्य विषय उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने बनेका छन् । यो बैठकमा सहकारीको बचत फिर्ताको सुनिश्चितता, सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय छानबिन समिति बनाउने विषयलाई मुख्य मुद्दाका रुपमा छलफल गरिँदैछ ।

गृहमन्त्री लामिछानेले संसद्‍मा सम्बोधनका क्रममा अशिष्ट, हिंस्रक र अपमानजनक शब्द प्रयोग गरेको भन्दै त्यसलाई पनि अबको एजेन्डा बनाउने तयारी कांग्रेसको छ । त्यस्तै व्यक्ति नै तोकेर कांग्रेस नेताहरूमाथि लामिछानेले संसद्‍बाट लगाएको आरोप आपत्तिजनक रहेको भन्दै यबारे पनि पनि छलफल भइरहेको छ ।

कांग्रेसले बैठकमा अब गृहमन्त्री लामिछानेको राजीनामा माग्ने तयारीसहित छलफल गर्दैछ । कांग्रेसले अब गृहमन्त्रीको राजीनामा माग्ने दिशातर्फ लैजाने गरी बैठकमा छलफल गरेको हो । त्यसैगरी बैठकमा सभामुख देवराज घिमिरेको भूमिकाबारे पनि समीक्षा गरिँदैछ । कांग्रेसले सरकारको पछिल्लो गतिविधिबारे पनि छलफल गरिरहेको छ ।

कांग्रेसले सडक आम्दोलनको घोषणा पनि यही बैठकबाट गर्ने यतारी गरेको छ। प्रथम चरणमा शुक्रबार भृकुटीमण्डपबाट सुरु गर्ने तयारी कांग्रेसको छ । सहकारी प्रकरण प्रभावित सहरहरू पोखरा, चितवन, रुपन्देही हुँदै देशभर आन्दोलन गर्ने रणनीति बनाउने गरी कांग्रेस बैठकमा छलफल भइरहेको छ ।

प्रतिकृया दिनुहोस्