News Portal

असोज ७ गतेदेखि बिर्तामोडमा किताब मेला हुने

रातोपोस्ट संवाददाता
१०३ पटक

झापा, ४ असोज । दशैं पर्वको अवसर पारेर झापामा किताब मेला आयोजना हुने भएको छ । वीरता रिडर्सको आयोजनामा दशैं कोसेली किताब भन्ने नाराका साथ बिर्तामोडमा किताब मेला संचालन हुने भएको हो । बिहिबार बिर्तामोडमा पत्रकार सम्मेलन गरी आयोजकले किताब मेला आयोजाना, तयारी र व्यवस्थापनबारे जानकारी गराएको हो ।

लेखक र पाठकहरूबीच सम्बन्ध सेतु स्थापित गर्ने उद्देश्यले किताब मेलाको आयोजना गरिएको वीरता रिडर्सका संयोजक तीर्थ सिग्देलले जानकारी दिए । सिग्देलले बिर्तामोडको शनिश्चरे रोडस्थित नेपाल बैंक छेउ इशा बुक्स अगाडी किताब मेला संचालन गरिने बताए । उनका अनुसार असोज ७ गतेदेखि २३ गतेसम्म मेला सञ्चालन हुनेछ । सिग्देलले दशैंमा अन्य सामाग्रीहरु खरिद गरेझै किताब खरिद गर्ने संस्कृतिको विकास हुनुपर्नेमा जोड दिदै किताब नै उपहार दिने गरिएमा पाठन शैलीको विकास हुनुको साथै सर्जकहरुलाई समेत थप प्रेरीत गर्ने बताए ।

साहित्य पत्रकार मञ्च, झापाली साहित्य समाज र बिर्तामोड पुस्तकालयको सहकार्यमा पुस्तक मेला आयोजना हुन लागेको हो । मेलामा झापाली लेखकका किताबको छुट्टै स्टल रहने जनाइएको छ । मेलामा आएका पाठकहरुले समेत लेखक तथा साहित्यकारसँग साक्षात्कार गर्न पाउनेछन् । मेलामा बिर्तामोडको ईशा बुक्स एण्ड स्टेसनरीले स्टल व्यवस्थापन गरेको छ । स्टलमा ९०० भन्दा बढी किताब रहने जनाइएको छ । स्टेसनरी सञ्चालक केशव मैनालीले सबै क्षेत्रका किताब उपलब्ध हुने बताए ।

लेखक तथा रिडर्स अभियानका अभियन्ता समेत रहनुभएका पत्रकार सन्तोष आचार्यले पाठकको रुचि र चाहना अनुसार लेखन अभ्यासमा सक्रिय हुन लेखकहरूलाई समेत प्रेरित गर्ने उद्देश्यले किताब मेला आयोजना गरिएको जानकारी दिए । आयोजकले मेलामा किताब खरिद गर्नेहरुलाई बिषेश छुट रहेको जानकारी गराएको छ भने मेलाको अवलोकन गर्न आवहान समेत गरिएको छ ।

प्रतिकृया दिनुहोस्