News Portal

पूर्वीनाकामा होल्डिङ सेन्टर तयार

रातोपोस्ट संवाददाता
५९१ पटक

झापा, २० बैशाख । पूर्वी नाका काँकडभिट्टामा नेपाली सेनाले होल्डिङ सेन्टर तयार गरेको छ । त्रिपाल टाँगेर अस्थायी होल्डिङ सेन्टर खडा गरिएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले बताए ।

होल्डिङ सेन्टरका लागि त्रिपाल रेडक्रस सोसाइटी झापाले उपलब्ध गराएको छ । काँकडभिट्टा माविको मैदानको आधा भाग ओगटेर घेराबेरा गरी सेनाले होल्डिङ सेन्टर खडा गरेको हो । अघिल्लो वर्ष स्कुलमा होल्डिङ सेन्टर राखेको भन्दै सरोकारवालाले विरोध जनाएका थिए । उपयुक्त स्थान अभावका कारण पुन: स्कुलकै मैदानमा राखिएको प्रशासनको भनाइ छ ।

नेपाल–भारत सीमा नाकाको करिब ५ सय मिटर क्षेत्रमा होल्डिङ सेन्टर राखिएको छ । यसको व्यवस्थापनको नेतृत्व सेनाको नयाँ श्रीनाथ गणले गर्नेछ । भारतबाट आएका नेपालीहरूको स्वास्थ्य परीक्षणलगायतका काम होल्डिङ सेन्टरमा नै हुने सेनाका क्याप्टेन विजय निरौलाले जनाए । उनका अनुसार होल्डिङबाटै कोरोना संक्रमितको पहिचान गरेर सम्बन्धित जिल्ला या क्षेत्रमा पठाइनेछ । ‘भारतबाट घर फिरेका नेपालीलाई यहाँ राखेर स्वास्थ्य परीक्षण गरिन्छ । स्वस्थ भए मात्रै घर जान दिइनेछ,’ उनले भने ।

हाल मेची पुलमै तीनवटा टेन्ट टाँगेर कामचलाउ होल्डिङ सेन्टर छ । ‘तर त्यहाँ भारतबाट आएकाहरूलाई राख्न मिल्दैन । उनीहरूको एन्टिजेन जाँच्नसम्म मात्रै मिल्छ’, नाकामा खटिएका सशस्त्र प्रहरीका सई नारायण गौतमले भने ।

प्रतिकृया दिनुहोस्