News Portal

पत्रकार दाहालको कोरोना संक्रमणबाट निधन

रातोपोस्ट संवाददाता
६१३ पटक

काठमाडौँ, २५ बैशाख । कोरोना संक्रमित पत्रकार दिनेश दाहालको मृत्यु भएको छ । संक्रमण पुष्टि भएपछि उपचाररत उनको उपचारकै क्रममा निधन भएको नेपाल पत्रकार महासंघले जनाएको छ ।

महासचिव रोसन पुरीले एक विज्ञप्ति जारी गर्दै नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाका सदस्य दिनेश दाहालको कोरोना संक्रमणका कारण ४० वर्षको अल्पायुमै निधन भएको उल्लेख गरेका छन् । वैशाख १ गते कोरोना संक्रमण पुष्टि भएपछि घरमै आइसोलेसनमा रहेका दाहाललाई श्वास फेर्न समस्या भएपछि वैशाख १० गते ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा भर्ना गरिएको थियो । १५ दिनदेखि उपचाररत दाहालको आज बिहान उपचारको क्रममा निधन भएको हो ।

दाहाल विगत दुई दशकदेखि पत्रकारितामा सक्रिय थिए । उनको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल र जुझारु युवा पत्रकार गुमाएको महासंघले जनाएको छ । स्वर्गीय दाहालका श्रीमती, एक छोरा र एक छोरी छन् । दाहालको निधनसँगै नेपालमा कोरोनाकै कारण हालसम्म ८ जना पत्रकारको निधन भएको छ । ६ सय ५० भन्दा बढी पत्रकार संक्रमित छन् ।

प्रतिकृया दिनुहोस्