News Portal

काँकरभिट्टा खानेपानीको साँचो सम्हाल्ने सम्भावित उमेद्वार

नवराज सुवेदी
३६६ पटक

काँकरभिट्टा, २ जेठ। स्थानीय तहको निर्वाचनकै झल्को दिनेगरी सम्पन्न हुने काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचन नजिकिँदैछ । गत वैशाख १८ मा सम्पन्न संस्थाको साधारण सभाले आगामी जेठ २६ मा निर्वाचन गर्ने निर्णय गरेको छ । जेठ शुरु भइसकेकाले जेठ २६ खासै परको मिति होइन ।

काँकरभिट्टासँगै सिंगो मेचीनगरको गौरव बोकेको यस संस्थाको नेतृत्वमा पुग्न ठुलै दौडधुप हुने गरेको छ । मिति नजिकिँदै जाँदा निर्वाचनको माहोल पनि त्यति नै बढ्दै जान्छ भन्नेमा दुईमत छैन । स्पस्ट छ, संस्थाको नेतृत्वदायी समितिमा अटाउन पार्टीका नेताहरुको ठुलै कसरत हुन्छ । संस्थाको नेतृत्व चयनका लागि चुनाव नभएर सर्वसम्मत पनि त हुन सक्ला नि ! तर, यसअघिको अभ्यास समेत नियालिरहेका आम उपभोक्ताले सर्वसम्मतिका प्रक्रियाबाट नयाँ नेतृत्व आउला भनेर खासै आँकलन गरेका छैनन् ।

बरु राजनीतिक दलमार्फत नभएर स्वतन्त्र उमेद्वारीमार्फत नेतृत्वमा पुग्न चाहनेको संस्या यसपटक देखिन पनि सक्छ । यद्यपि निर्वाचन नजिक आइरहँदा खानेपानीको नेतृत्वमा उमेद्वारी दिने चर्चा चलेका केही व्यक्तिहरुको हामी यहाँ चर्चा गर्दैछौँ । अर्थात अध्यक्षका सम्भावित उमेद्वारहरुको चर्चा ।

विगतका अभ्यासहरुलाई नियाल्ने हो भने खानेपानीको चुनावमा दुई राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमालेबीच ठुलै प्रतिस्पर्धा हुन्छ । यद्यपि गठबन्धन तथा समीकरणमार्फत अन्य दल पनि चुनावमा जोडिन्छन् । एक विशेष स्रोतका अनुसार यसपटकको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि प्यानलै निर्माण गरेर चुनावी प्रक्रियामा भाग लिँदैछ । यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि चुनावी प्रक्रियामा भाग लिने बुझिएको छ ।

हामीलाई प्राप्त जानकारी अनुसार खानेपानीको चुनावमा अध्यक्ष पदका लागि नेकपा एमालेमा चारजना आकांक्षी देखिएका छन् भने नेपाली कांग्रेसले उमेद्वार लगभग टुंग्याइसकेको छ । नेकपा एमाले निकट स्रोतका अनुसार एमालेबाट वर्तमान अध्यक्ष राजकुमार पराजुली, वर्तमान उपाध्यक्ष गोविन्द गिरी, लामो समय पत्रकारिता क्षेत्रमा समेत सक्रिय रहेका तथा पार्टीको खानेपानी विभागको जिम्मेवारी सम्हालिरहेका सन्तोष आचार्य र समाजसेवी सुशील आचार्य एमालेबाट अध्यक्षको उमेद्वार बन्न सक्ने सम्भावित उमेद्वार हुन् ।

एकै पार्टीबाट चारजना उमेद्वार देखिएकाले अध्यक्षको उमेद्वारी टिकट कसले पाउँछ ? भन्ने विषयले अर्थ राख्छ । जुन कुरा छिट्टै थाहा हुने नै छ । यसैगरी, नेपाली कांग्रेसले भने रोहित बुढाथोकीलाई उमेद्वार बनाउने बुझिएको छ । आकांक्षी अन्य व्यक्तिहरु पनि रहे पनि उनलाई उमेद्वार बनाउने विषयमा सहमति बनिसकेको एक विश्वसनीय स्रोतले जानकारी दियो ।

खानेपानीलाई सार्वजनिक संस्थाको रुपमा हेरिन्छ । उपभोक्तालाई सहज र सुलभ तरिकाले पानी वितरण गर्नु अबको प्रमुख उद्देश्य हो । उपभोक्ताको सर्वोपरी हितका निम्ति खानेपानी संस्था सञ्चालन हुनुपर्छ । काँकरभिट्टा खानेपानी पनि उपभोक्ताकै निम्ति निरन्तर लागि परेको कुरामा दुईमत छैन । तर, अब आउने नेतृत्वलाई यतिमात्रै काम गर्ने छुट छैन । खानेपानी व्यवस्थापनमा चुनौती झेलिरहेकाले दीर्घकालीन स्रोतको खोजी गर्न जुट्नु पर्ने आवश्यकता देखिएको छ ।

प्रतिकृया दिनुहोस्