News Portal

गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दिए राजीनामा

रातोपोस्ट संवाददाता
३१९ पटक

पोखरा, २६ बैशाख । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् । उनले प्रदेश प्रमुख सीता पौडेलसमक्ष आइतबार अपराह्न ३ बजे राजीनामा बुझाएका हुन् । उनी विरुद्ध कांग्रेस, माओवादी केन्द्र र जसपाले अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । त्यसउपर भोलि गण्डकी प्रदेश सभामा मतदान हुने कार्यक्रम थियो । यस अगावै गुरुङले राजीनामा दिएका हुन् ।

आइतबार गुरुङले संविधानको धारा १६९ को उपधारा (१) (क) बमोजिम प्रदेश प्रमुख सीताकुमारी पौडेललाई राजीनामा बुझाएका हुन्। उक्त राजीनामा गण्डकी प्रदेश प्रमुखको कार्यालयले स्वीकृत गरेको छ। प्रदेश कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले मुख्यमन्त्री गुरुङको राजीनामा स्वीकृत भएको र संविधानको धारा १६९ को उपधारा (१) बमोजिम मौजुदा मन्त्रिपरिषदको कार्य सञ्चालन गर्ने बताएको छ। संविधानको धारा १६८ को उपधारा (१) बमोजिम तीन दिनभित्र सरकार गठनका लागि आह्वान गर्नु भएको व्यवहोरा जानकारी गराएको छ।

कोरोना भाइरसबाट संक्रमित गुरुङ उनीविरुद्धको अविश्वासको प्रस्तावमाथि हुने छलफल समेत सहभागी हुन पाउने थिएनन् । आफू विरुद्ध लगाइएका अभियोगमा आफैले जवाफ दिन नपाउने भएपछि उनले त्यसअघि नै राजीनामा दिने निधो गरको गुरुङ निकटस्थ स्रोतले बतायो । माओवादी केन्द्र र जनमोर्चाको समर्थनमा मुख्यमन्त्री बनेका गुरुङ उनीहरुले समर्थन फिर्ता लिएपछि प्रदेश सभामा अल्पमतमा छन् । यद्यपि उनी विरुद्धको अविश्वासको प्रस्तावमा जनमोर्चाले हस्ताक्षर गरेको छैन। तर पार्टीके केन्द्रले अविश्वास प्रस्तावकै पक्षमा मतदान गर्न निर्देशन दिइसकेको छ ।

प्रतिकृया दिनुहोस्