News Portal

कोरोना कहर : माई मेला नलाग्ने

रातोपोस्ट संवाददाता
३६९ पटक

झापा, २६ पुस । झापाको कनकाई नदी किनारमा लाग्दै आएको माघे संक्रान्ती (माई मेला) यो वर्ष नलाग्ने भएको छ। कन्काई र शिवसताक्षी नगरपालिकाको सोमबार बसेको संयुक्त बैठकले पछिल्लो समय कोरोना संक्रमण थपिएको भन्दै माई मेला स्थगित गर्ने निर्णय गरेको हो।

दुबै पालिकाको संयुक्त बैठकले कनकाई नदीको पश्चिम तटीय माइधार र पूर्व तटीय कोटिहोम क्षेत्रमा माई मेला आयोजना नगर्ने निर्णय भएको शिवसताक्षी नगरका नगर प्रमुख चन्द्रकुमार शेर्माले जानकारी दिए। कनकाई नदी किनारमा माघे संक्रान्तिको अघिल्लो दिनदेखि तीन दिनसम्म भव्य धार्मिक मेला लाग्दै आएको थियो।

मकर नुहाउन र मेला भर्न नेपाल तथा भारतका असंख्य तीर्थयात्री आउने भएकाले कोरोना संक्रमणको सम्भावना बढ्ने भएकाले यस वर्ष मेला नलगाउने निर्णय गरेको शेर्माले जानकारी दिए। कनकाई नगरपालिकाभित्र पर्ने कनकाई माई तथा कोटिहोम र शिवसताक्षी नगरमा पर्ने माइधार, दोमुखा तथा माइधाम क्षेत्रभित्र प्रत्येक वर्ष लाग्दै आएको मेला यस वर्ष हाट बजार नलगाउने, टेन्ट तथा पण्डाल नटाङ्ने, पिङ, सर्कसजस्ता मनोरञ्जन लगायतका कुनै पनि गतिविधि नगर्ने जनाइएको छ । नेपालका विभिन्न धार्मिक महत्व बोकेका नदीमध्ये कन्काई माईको छुट्टै महत्व छ।

यो नदीमा हिन्दू धर्मावलम्बी भक्तजनद्वारा आस्थापूर्वक स्नान, पूजाआराधना गर्ने प्रचलन रहिआएको छ। आफ्नो मनोकांक्षा पूरा हुने जनविश्वास रहँदै आएको यो नदीमा माघे संग्रान्तीका दिन मकर नुहाउनेको घुइँचो नै लाग्ने गर्छ। नेपालको पूर्वी क्षेत्रको अलावा पूर्वोत्तर भारतको दार्जीलिङ, सिक्किम, पश्चिम बङ्गाल र आसामका भक्तालु तथा दर्शनार्थीसमेत यहाँ आउने गरेका छन्।

प्रतिकृया दिनुहोस्