News Portal

बाहुनडाँगीमा आत्महत्यासम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

रातोपोस्ट संवाददाता
७४ पटक

झापा, २६ बैशाख । झापाको मेचीनगर–४ स्थित बाहुनडाँगीमा बढ्दो आत्महत्या न्यूनीकरणमा हाम्रो भूमिका, सकारात्मक सोचको प्रभाव गतिशील जीवनको आधार विषयक कार्यक्रम सम्पन्न भएको छ ।

मंगलबार नारी सञ्चार गृह झापाको आयोजना र मेचीगर वडा नम्बर ४ को सहयोगमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष अर्जुन कार्कीले भविष्यको सम्भावना बोकेका बालबालिकालाई समयसँगसँगै चल्नुपर्नेतर्फ सचेत गराउँदै अमूल्य जीवनको सारलाई बुझेर अघि बढ्न पर्ने बताए ।

पछिल्लो समय किशोरकिशोरीले आत्महत्या गर्ने क्रम बढेसँगै त्यसको अप्रत्यक्ष असर समाजमा समेत पर्न थालेको कार्कीको भनाइ थियो । इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक मीमबहादुर लामाले झापामा आत्महत्याको अवस्था र बालबालिकाले आत्महत्या गर्नुको कारण प्रेम, आर्थिक अवस्था र उच्च महत्वाकांक्षा रहेको अनुसन्धानले देखाएको बताए ।

त्यस्तै, मनोपरामर्शदाता एवम धुलाबारी माविका प्रधानाध्यापक महेन्द्रविलास लुइँटेलले विद्यार्थीहरुको मनको कुरा कसरी बुझ्न सकिन्छ, कुन कुरामा तनाव हुँदैछ लगायत विषयमा बुझ्न जरुरी रहेको बताए । पारिवारिक, शारीरिक वा सामाजिक कुनै कारणले उसले आत्महत्याको सोच बनाएको छ कि भनेर अभिभावक, शिक्षक, साथीहरूले नै बुझन जरुरी रहेको उनको भनाइ थियो । उनले विद्यार्थीले बोल्दै गर्दा, विद्यालयमा बिदा माग्दै गर्दा पनि साथीहरूले उसको मनोविज्ञान बुझ्नुपर्ने कुरामा सचेत गराए ।

विद्यार्थीका तर्फबाट सरस्वती माविका संयोग शर्माले कार्यक्रमबाट धेरै कुरा सिक्ने अवसर पाएको र यसले आफ्नो जीवनमा ठुलो महत्व राख्ने बताए । विद्यालयका तर्फबाट पशुपति माविका प्रधानाध्यापक लक्ष्मण प्रधानले समयसापेक्ष यस्ता कार्यक्रमहरु आयोजना गर्न आवश्यक रहेको र यसले विद्यार्थीमा सकारात्मक सोचाइको विकास हुने बताए ।

कार्यक्रममा पशुपति माविका प्रधानाध्यापक लक्ष्मण प्रधान, सरस्वती माविकी शिक्षक प्रतिनिधि अनिता थापा, अंशु एकाडेमीका प्रधानाध्यापक किरण अधिकारी, विद्या विकास विद्यालयका शिक्षकलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

वडाकाे सभाहलमा सम्पन्न भएकाे कार्यक्रममा बाहुनडाँगी क्षेत्रका १ सय ५० जना विद्यार्थी भन्दा बढीको उपस्थिति रहेको थियो । संस्थाकी अध्यक्ष रेजिना गौतमको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत तथा औचित्यमाथि प्रकाश कार्यक्रम संयोजक विनिशा शर्माले पारेकी थिइन् भने कार्यक्रमको सञ्चालन जोश्ना श्रेष्ठले गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस्