News Portal

देशभक्त जनगणतान्त्रिक मोर्चाद्वारा पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्न माग

रातोपोस्ट संवाददाता
३४२ पटक

काठमाडाैं, ११ जेठ । देशभक्त जनगणतान्त्रिक मोर्चाले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न माग गरेको छ। बुधबार काठमाडौंमा पत्रकार सम्मेलनका आयोजना गर्दै मोर्चाका अध्यक्ष सिपी गजुरेलले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन सरकारसँग माग गरेका हुन्।

पटक–पटक गरिएको मूल्यवृद्धिले जनता मारमा परेको भन्दै उनले यसबीचमा गरिएको सम्पूर्ण मूल्यवृद्धि फिर्ता गरी पहिलेकै ठाउँमा ल्याउनुपर्ने माग गरे। अन्तर्राष्ट्रिय रुपमा बढेको मूल्यवृद्धिले मात्रै नभइ सरकारले विभिन्न करहरू जोडेका कारण मूल्यवृद्धि भएको उनले दाबी गरे।

अध्यक्ष गजुरेलले मूल्यवृद्धि फिर्ता गरी जनतालाई राहत दिइनुपर्ने बताए। उनले भने, ‘हिसाब गर्दा के देखिन्छ भने ९ अर्ब २० करोड रुपैयाँ त महिनै पिच्छे यिनीहरुले आयल निगमबाट नाफा खाँदा रहेछन्। त्यो बोझ ग्राहकहरुलाई दिन्छन्। त्यसो हुनाले यो अन्यायपूर्ण छ। त्यसकारण यो तुरुन्त खारेज हुनुपर्छ।’

उनले स्थानीय तह निर्वाचन मार्फत जनताले वास्तविक लोकतन्त्रको अनुभूति गर्न नसकेको बताए। कतिपय ठाउँमा आफ्नै पार्टीको चुनाव चिन्हमा मतदान गर्दा कारबाही गरिनुले लोकतन्त्र नभई दल तन्त्र भएको उनले प्रष्ट्याए।

उनले भने, ‘लोकतन्त्रमा त पार्टीहरूका बीचमा प्रतिस्पर्धा हुन्छ। उनीहरुले चुनावी घोषणापत्र निकाल्छन्। त्यो घोषणापत्रको आधारमा मतदाताहरूले निर्णय गर्छन्। कुन पार्टी ठीक छ भन्ने। त्यसपछि त्यही अनुसार उनीहरुले भोट हाल्छन्। तर प्रतिस्पर्धा नै छैन् यहाँ। अनि के लोकतन्त्र भयो यो? आफ्नो पार्टीको मान्छेले आफ्नै चुनाव चिन्हमा भोट हाल्दा कारबाही गर्नुपर्ने अवस्था आयाे।’

प्रतिकृया दिनुहोस्