झापा, २६ जेठ । संगम फुटबल क्लब झापाको मेचीनगरमा जारी प्रथम केएफटिसी सिटी लिग यु–१४ फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । काँकरभिट्टा माविको खेल मैदानमा आज भएको सेमिफाइनल खेलमा क्लासिक वारियर्सलाई १–० गोल अन्तरले पराजित गर्दै संगम फाइनल प्रवेश गरेको हो ।
योसंगै उसले नगद ३० हजार समेत सुरक्षित गरेको छ । अत्यन्तै रोमाञ्चक बनेको आजको खेलमा दुवै टिमले राम्रो अवसरहरू सदुपयोग गर्न सकेका थिएनन् । खेलको ४१औं मिनेटमा आयुस शाक्यले गरेको गोल नै निर्णायक बन्दा संगम उपाधि नजिक पुगेको हो । खेलमा उत्कृष्ट प्रदर्शनी गर्दै एक गोल गर्न सफल संगमका आयुस शाक्य म्यान अफ द म्याच घोषित । त्यस्तै इमर्जिङ प्लेयरका रुपमा संगमकै अनिस राजवंशी घोषित भए । उनीहरूले नगदसहित गिफ्ट हेम्पर प्राप्त गरे ।
अब उपाधिका लागि संगमले ह्याप्पी क्लबसंग जेठ २८ गते शनिबार प्रतिष्पर्धा गर्ने आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका अध्यक्ष मिनबहादुर बस्नेतले बताए । प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँ नगद प्राप्त गर्नुका साथै उपविजेताले ३० हजार र ट्रफी प्राप्त गर्ने छ ।