एजेन्सी,३० जेठ । भारतमा पैगम्बर मोहम्मदको बारेमा अपमानजनक टिप्पणीको कारण उत्पन्न दंगामा संलग्न रहेको आरोप लगाउँदै सुरक्षाकर्मीले केही मुस्लिम व्यक्तित्वहरूको घर ध्वस्त पारेको छ । सत्तारुढ भाजपाका दुई प्रमुख सदस्यहरूले इस्लाम विरोधी टिप्पणी गरेपछि मुस्लिमहरूले विरोध प्रदर्शन गरिरहेका छन् । आन्दोलनमा संलग्न तीन सयभन्दा बढीलाई प्रहरीले पक्राउ गरेको छ ।
भाजपा प्रवक्ता नुपुर शर्माले एक टिभी बहसको क्रममा मोहम्मदका बारेमा अपमानजनक टिप्पणी गरेकी थिइन् । उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथले गत हप्ता त्यहाँ दंगामा संलग्न भएका आरोपितको कुनै पनि अवैध प्रतिष्ठान र घरहरू भत्काउने आदेश दिएका थिए ।
उत्तर प्रदेशका घर मालिकहरूलाई पहिले नै आफ्नो घर खाली गर्न भनिएको थियो । हिन्दुस्तान टाइम्सका अनुसार प्रहरीले स्थानीय राजनीतिज्ञ जावेद अहमदको पनि घर भत्काएको छ । उनकी छोरी अफरीन फातिमा एक प्रख्यात मुस्लिम अधिकारकर्मी हुन् ।