मेचीनगर । भारतबाट नेपालतर्फ प्रवेश गर्ने मालबाहक ट्रकहरुको लस्करले साँगुरो हुन्थ्यो मेची नदी माथिको पुरानो पुल । रिक्साको एकलौटी राज थियो, थिएन अहिलेको जस्तो सिटी सफारीको जाम । सुरसार नै थिएन अहिले देखिएको बडेमानको एसियन हाइवेको । नेपालतर्फ खुलेका इटाभट्टाका लागि खपत हुने कोइला अधिक मात्रामा आयात हुन्थ्यो भने नेपालबाट कृषिजन्य वस्तुको निर्यात । समग्रमा पूर्वी नाका काँकरभिट्टाको अवस्था केही बर्ष अघिसम्म ‘गज्जब’ को थियो ।
जसै विश्वभर कोरोना संक्रमणको कहालिलाग्दो अवस्था सुरु भयो । पूर्वी नाका पनि यसैको चपेटामा पर्यो । कोरोनाको संक्रमणकालीन अवस्थाबाट थलिएको पूर्वी नाका आज पनि पहिलेको अवस्थामा पुग्न सकिरहेको छैन । पेट्रोलियम पदार्थको आयातले मात्रै यस नाका चलिरहेको छ । यस नाकाबाट पेट्रोलियम पदार्थ मात्रै नभित्रने हो भने नाका यसै अर्थहीन भएर जाने स्वयम् भन्सार अधिकारीहरु नै बताउँछन् । मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख राजेन्द्रप्रसाद चुँडाल पूर्वी नाका पूर्णरुपमा पेट्रोलियम पदार्थमा निर्भर हुनुपरेको बताउँछन् । ‘यस नाकाको बेस नै निर्यात हो, तर राजश्व संकलन पूर्णरुपमा आयातमा निर्भर छ,’ उनी भन्छन् ‘आयातमा पनि पेट्रोलियम पदार्थको आयात राजश्वको मुख्य स्रोत हो ।’
आर्थिक बर्ष २०८०/८१ को राजश्व संकलनको तथ्यांक हेर्ने हो भने पनि यहाँ अवस्थित मेची भन्सार कार्यालयले संकलन गरेको राजश्वको ६० प्रतिशत भन्दा धेरै रकम त पेट्रोलियम पदार्थको आयातबाट मात्रै संकलन भएको छ । त्यसपछि यातायातका साधन र पार्टपुर्जाबाट कुल संकलित राजश्वमध्ये ३ प्रतिशत संकलन भएको छ । यसरी कोइला, जिप्समलगायतका वस्तु आयातबाट चलिरहेको मेची भन्सार कार्यालय अहिले आएर सम्पूर्ण रुपमा पेट्रोलियम पदार्थमा निर्भर हुनुपरेको छ ।
कोरोनाको संक्रमणकालीन अवस्था अघिसम्म यथावत रुपमा सञ्चालन भइरहेको पूर्वी नाका संक्रमणको अवस्था साम्य भएको यतिका समय भइसक्दा पनि किन लयमा फर्कन सकेन ? सायदै सहज जवाफ भेटाउन मुस्किल छ । २०२२ सालदेखि काँकरभिट्टा क्षेत्रमा बसोबास गरिरहेका सीमा सम्बन्धी जानकार दिलिप अधिकारी नाका सुस्ताउँदै जानुमा चोरी निकासीको बढावाले प्रभाव पारिरहेको बताउँछन् ।
‘चोरी निकासी पहिले पनि हुन्थ्यो, त्यो उपक्रम अहिलेसम्म पनि रोकिएको छैन । स्वरुप परिवर्तन भएपनि चोरी निकासीको क्रम भने रोकिएको छैन,’ उनी भन्छन् ‘नाकाको आयस्रोत बढ्दै जानु र चहलपहल बढ्नु भनेको वैधानिक बाटोबाट सामान कति आयात–निर्यात हुन्छ ? भन्नेमा पनि फरक पर्छ ।’ उनले भनेजस्तै पछिल्लो समय पूर्वी नाकाबाट हुने तस्करीको उपक्रम कसरी चलिरहेको छ भन्ने कुरा प्रहरीले पूर्वी नाकाबाट बरामद गरेका अवैध सामानको तथ्यांकले पनि प्रस्ट्याउँछ । यो सँगै मेची पुलमाथिबाट यात्रा गर्ने अनेकन यात्रुको आँखै अगाडि भइरहेको साना व्यापारीको तस्करी ट्रेण्ड पनि नाका सुस्ताउनुको एउटा मुख्य जड हो ।
मेची पुलमाथि पोके व्यापारीको यस्तो अस्तव्यस्तता देख्न सकिन्छ कि पुलको दक्षिणपट्टीको भागमा पोके व्यापारीको सामानको थाक नै लागेको हुन्छ । भारतबाट ल्याएर मेची पुलमा राखी भन्सार र सुरक्षाकर्मीलाई झुक्याएर नेपाल छिराउने उद्देश्यले मेची पुलमा बसेका पोके व्यापारीका कारण पनि मेची पुल अस्तव्यस्त बनिरहेको छ । भारतबाट आएका सिटीले व्यापारीलाई आधा पुलमा नै उतारिदिन्छन् अनि व्यापारीहरु अर्को सिटी रिक्सामा त्यहाँबाट नेपाल आउँछन् । यसरी व्यापारी चढाउँदा, सामान लोड अनलोड गर्दा सिटी रिक्सा आधा पुलमा नै रोकिनुपर्ने हुन्छ । जसले पनि मेची पुलको यो विचित्रतालाई र सुस्ताउँदो नाकालाई बढावा दिइरहेको छ ।
सिटीको जाम, यात्रुलाई सास्ती
मेची पुलमाथि अनौठो लाग्ने दृष्य हो यो । यहाँ सिटी रिक्साले आधा पुलमै यात्रु साटिदिन्छन् । पानीटेंकीबाट नेपाल आउने सिटी रिक्सा आधा पुल भन्दा वरसम्म मात्र आउँछन् अनि अर्को सिटी रिक्सामा यात्रुलाई पठाइदिन्छन् । बिचरा यात्रु अनाहकमा सिटी फेर्न बाध्य हुन्छन् । सिटी रिक्सा मेची पुलबाट नेपाल प्रवेश गरेपछि पोके व्यापारीले हातमा २० देखि ५० रुपैयाँसम्मका नोटहरु तयार पार्छन् । यो अरु कुनै कामका लागि होइन, चेकिङका लागि बसेकालाई दिन र भन्सार नतिरी सामान पार गराउनलाई हो । मेची पुल मुखमा देखिने यो दृष्य नौलो होइन ।
कोही पनि नागरिक २ घण्टा मात्रै त्यहाँ गएर बस्ने हो भने यस्ता अनेकौं दृष्य देख्न पाइन्छ । नेपाल–भारत सीमा छुट्याउने देशको यो प्रवेशद्वार फराकिलो सडक सहितको ६ लेन पुलले जति मनमोहक र सुन्दर देखिन्छ, यथार्थतामा उत्तिकै विचित्र । त्यसैले हरेक नागरिकको प्रश्न छ, ‘कसले जोगाउने पूर्वी नाकाको विरासत ?,’ तर जवाफ ! बोर्डरल्यान्ड दैनिकबाट साभार