News Portal

६ दलको एक आवाज : अबको आन्दोलन वार कि पार !

नवराज सुवेदी
६६ पटक

मेचीनगर । ‘कतिपय विषयहरु कार्यपालिकाबाट निर्णयमा पुग्नुपर्ने तथा कतिपय विषयहरु कानूनी परामर्श गर्नुपर्ने भनी नगरपालिकाले हामीलाई अल्मल्याई र गुमराहमा राखी कपटपूर्ण तरिकाले बलमिच्याइँपूर्वक श्रृंखलाबद्ध रुपमा गर्ने गरेका जनविरोधी हर्कतहरुप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ मेचीनगरका प्रमुख ६ राजनीतिक दलले यसअघि ६ भदौमा नगरपालिकालाई विज्ञप्ती बुझाउँदै भनेको आवाज हो यो ।

नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले बागडोर सम्हालेको मेचीनगरको कार्यशैलीप्रति विरोध जनाउँदै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीले पटक–पटक आवाज उठाउँदै आएका थिए । तर, नगरले ती विरोधका आवाजहरुलाई वास्ता गरिरहेको थिएन र छैन पनि ।

त्यसैको एक उदाहरण हो । मेचीनगरले गैरकानूनी रुपमा उठाइरहेको सडक कर । जसबारेमा यी दलले त्यतिबेलै नगरपालिकालाई चेतावनी स्वरुप विभिन्न प्रश्न राखेका थिए । ‘विगतमा दररेट दोब्बर गरी कर असुली गर्ने तथा तोकेको भन्दा फरक स्थानमा असुली गर्ने प्रवृत्तिलाई मेचीनगर नगरपालिकाले नै पूर्णरुपमा संरक्षण गरेको कुरा छर्लंग भएको छ । अतः हाम्रो तर्फबाट उक्त सन्दर्भमा माग गरिएको फरक स्थान र फरक दर कसरी भयो ? फरक दरको रसिद सञ्चालनको अनुमति कसले दियो ? त्यसो गर्न मिल्थ्यो ? मिल्दैन भने त्यसो गर्ने व्यक्तिलाई के कारवाही भयो ?,’ प्रेस विज्ञप्ती मार्फत विविध प्रश्न राखेका यी ६ दलले समग्र कर उठाउने प्रणाली तथा विविध जनसरोकारका विषयप्रति नै गम्भीर प्रश्न तेस्र्याएका थिए ।

चेतावनीको भाषामा विज्ञप्ती लिएर भदौमा नगर परिसर पुगेका यी दलले जवाफ चाहिँ पाए कि पाएनन् ? पाएनन् भने त्यसपछि किन पछि हटे दलहरु ? प्रस्तुत छ दलका प्रतिनिधिहरुको भनाई जस्ताको तस्तैः

‘कदम स्थगन भएको हो, रोकिएको छैन’ इन्द्रबहादुर बुढाथोकी : क्षेत्रीय सभापति नेपाली कांग्रेस

नगरपालिकाले कर उठाउने भन्ने कुरा एकदमै गलत छ । जुन कुरा हामीले यसअघि नै भनिसकेका छौं । नगरपालिकाको अव्यवस्थित हर्कतका कारण नागरिकले दुःख पाएका छन् । त्यसमा पनि हाम्रो नगर सिमावर्ती नगर हो । यहाँ भारतीय नागरिक पनि विभिन्न कामका लागि आउँछन् । नगरपालिकाले जुन किसिमले कर उठाउने रणनीति लिएको छ, त्यो एकदमै गलत छ । यो क्रम तत्काल बन्द गरिनुपर्छ ।

हामीले यसअघि नै बुँदागत रुपमा नगरपालिकालाई भनेका थियौं । तर, त्यसपछि चाडवाड सुरु भयो । मेयर साबको पनि खुट्टामा समस्या आयो । त्यसकारण मात्रै नगरपालिका विरुद्धको हाम्रो कदम स्थगन भएको हो । तर, रोकिएको छैन । नगरपालिकाले हाम्रो आवाज बेवास्ता गरिरहे हामी झन् सशक्त रुपमा उत्रन्छौं ।

यसअघि ज्ञापन पत्र बुझाउने लगायतका काम मात्रै भएको थियो भने अब संघर्षका कार्यक्रम नै लिएर हामी आउँछौं । नगरपालिकाले कर नै लिन हुँदैन भन्ने पनि होइन । तर, कर लिने प्रणाली व्यवस्थित हुनुपर्छ । करको निश्चित रकम तोकिनुपर्छ । बार्षिक रुपमा कर लिने प्रणाली बनाउनुपर्छ । तर, ठेक्कापट्टा लगाएर, ढाट नै लगाएर, अव्यवस्थित रुपमा कर उठाउने क्रम जुन नगरपालिकाले अहिले चलाएको छ । त्यसको सशक्त विरोध हामी गर्छौं, गरिरहनेछौं ।

‘अब हामी झन् सशक्त भएर आउँछौं’ माधव अर्याल : नेकपा माओवादी केन्द्र क्षेत्रीय कमिटी संयोजक

नगरपालिकाले एक पछि अर्को गर्दै जुन जनविरोधि काम गरिरहेको छ । त्यसको हामी सधँै खबरदारी गरिरहेका छौं र गरिरहनेछौं । सडक करको सन्दर्भमा पनि हामी सशक्त रुपमा ज्ञापन पत्र नै बुझाएको सवर्वविदितै छ । कर नउठाउन नगरलाई पनि भनेका हौं र कर नतिर्न पनि नागरिकहरुलाई आग्रह गरेका हौं । तर, नगरले कर लिने क्रम रोकेन । हाम्रो आवाजलाई पनि बेवास्ता गर्यो । त्यसपछि भावनात्मक कुराहरु पनि अघि आए । मेयर साब विरामी हुनुभयो भने चाडवाडले पनि छोप्यो ।

पछिल्लो समय त नगरपालिकाको कर लिने कदम जुन छ, त्यसलाई सरकारको निर्देशनले नै अवैधानिक भनेर पुष्टि गरिदियो । नगरले हाम्रो आवाजलाई अझै पनि यसैगरी बेवास्ता गरिरहे अब हामी झन् सशक्त भएर आउँछौं । आन्दोलनका कार्यक्रम नै सार्वजनिक गरेर अघि बढ्छौं । अब त नगरपालिकाले लिखित सम्झौता गरेर मात्रै अघि बढ्नुपर्छ । सडक कर नलिन भनेर सरकारले नै फैसला गरिदियो, गृह मन्त्रालयको पनि निर्देशन छ । अब कर लिने प्रक्रिया व्यवस्थित बनाउनुपर्छ भन्ने हो कि बन्द नै गर्नुपर्छ भन्ने हो ? भन्ने प्रश्नमा उनले भने, ‘सरकारले नै अवैधानिक भनेपछि त करको च्याप्टर नै बन्द भइहाल्यो नि ।’

‘करलाई व्यवस्थित गर्नुपर्छ भन्ने हो’ विशालकृष्ण बाँस्तोला : राष्ट्रिय प्रजातन्त्र पार्टी मेचीनगर सचिव

नगरको कर उठाउने अव्यवस्थित प्रणाली जुन छ । त्यो एकदमै गलत छ । हामी सधैँ यसको विरोधमा रहन्छौं र यो बन्द गरिनुपर्छ भन्ने नै हाम्रो भनाइ हो । तर, हामी अन्तिम पटक नगरपालिकामा बैठक बस्दा नगरले एक हप्ताको समय माग्यो । त्यसपछि एउटा व्यवस्थित प्रणाली बनाएर अघि बढ्ने भन्ने निर्णय भएको थियो ।

तर, त्यसपछि चाडपर्व सुरु भयो । मेयर साबको पनि स्वास्थ्यमा समस्या आएपछि यो कुरा यसै सेलाएर गएको हो । मेयर साब नै शारीरिक रुपमा अस्वस्थ भएपछि अरुसँग यस विषयमा छलफल गर्ने कुरै भएन । त्यो फेरि नयाँ प्रक्रियामा जान्छ । यद्यपी हाम्रो जुन आन्दोलनका कार्यक्रम थिए त्यो रोकिएको छैन । सडक कर उठाउने जुन क्रम छ, त्यसलाई व्यवस्थित बनाएर, आवश्यक छलफल पश्चात अघि बढ्ने हो भने हामी मान्छौं । बाहना मात्रै बनाएर नगरकै प्रमुख दलहरुको आवाजलाई बेवास्ता गर्ने पालिकाको जुन प्रणाली छ । जसको सधैँ विरुद्धमा छौं हामी ।

तर, सडक करका रुपमा कुनैपनि कर नलिनु भनेर नगरपालिकाको प्रणालीलाई गैरकानूनी ठह र गर्दै कर नउठाउन गृह मन्त्रालयले निर्देशन गरेको छ नि तपाईंहरु फेरि व्यवस्थित प्रणाली बनाएर कर लिने भन्दै हुनुहुन्छ, यो त फेरि पनि गैरकानूनी हुन्छ होइन र ? भन्ने प्रश्नमा उनी भन्छन्, ‘गृह मन्त्रालयको परिपत्र पनि हामीले हेर्यौं । यद्यपी स्थानीय तहले आ–आफ्नो पोलिसी बनाएर कर लिन पाउने–नपाउने भन्ने विषयमै छलफल आवश्यक भएको हो । छिट्टै छलफल गरेर अघि बढ्छौं ।’

‘हामी सधैं खबरदारी गरिरहने छौं’ कमल गौतम : राष्ट्रिय स्वतन्त्र पार्टी मेचीनगर सभापति

सडक कर नउठाउनेदेखि अन्य पनि विभिन्न विषय राखी समाधानको बाटो खोज्न हामीले नगरपालिकालाई भनेका हौं । सडक करको विषय त गृह मन्त्रालयको निर्देशनसँगै टुंगिहाल्यो । अब बन्द हुनुपर्छ । त्यो सँगसँगै तत्काल समाधान हुने विषयहरु जसले नागरिकलाई सास्ती भइरहेको छ जस्तैः नदी दोहन, मेचीनगर–३ का शिक्षक धनराज भण्डारीको मृत्युसँग सम्बन्धित अनुसन्धानको पाटो, सडक कर यी समाधान गरेर तत्काल समाधान नहुने विषयमा आवश्यक छलफल गरेर मात्रै अब नगरपालिका अघि बढ्नुपर्छ ।

पहिलेजस्तै गरी हाम्रो आवाजलाई नगरले बेवास्ता गरिरहे हामी चरणबद्ध आन्दोलनमा उत्रन्छौं । अब विदा सकिएलगत्तै नगरका असन्तुष्ट दललाई बोलाएर आवश्यक छलफल गरी नगरपालिका अघि बढ्नुपर्छ । जनतालाई सास्ती दिने नगरपालिकाको कामकारवाहीप्रति हामी सधैं विरोधको मैदानमा छौं ।

‘अब हामी निष्कर्षमा पुग्छौं’ हरि तिम्सिना : नेकपा एकीकृत समाजवादी मेचीनगर अध्यक्ष

हामीले सुरुमा नगरको विभिन्न कामहरुको विरोध गर्दै शान्तिपूर्ण जस्तै गरी २–३ पटक ज्ञापन पत्र बुझाएका हौं । सडक कर उठाउने सन्दर्भमा पनि हामी ज्ञापन पत्र बाटै विरोध गर्यौं र नागरिकलाई कर नबुझाउन भनी आग्रह गर्यौं । त्यसबीचमा म बंगलादेश गएर आएपछि आवश्यक छलफल गरौँ भनेर अड्काइदिनुभयो । त्यसपछि मेयर साबकै स्वास्थ्यमा समस्या आयो । त्यसकारण हाम्रा थप कार्यक्रम अड्किए । अब त कानूनले नै कर नलिनु भनेर भनेको छ ।

कानूनले नै अवैधानिक भनिसकेपछि पनि नगरले यो क्रम जारी राख्छ भनी हाम्रो कदम जारी रहन्छ । कानूनले नै बन्देज गरेको कुरालाई निरन्तरता दिने भन्ने हुँदैन कर उठाउने कुराको शिलशिला नै सकिन्छ । यद्यपी अन्य विभिन्न विषय बाँकी रहेकाले नगरपालिकासँग छलफल गरेर हामी अघि बढ्छौं ।

‘अबको कदम नगरले के गर्छ भन्ने हो’ धनकुमार राई : जनता समाजवादी पार्टी मेचीनगर अध्यक्ष

हामीले नगरपालिकाले गरेका गलत कदमहरुको खबरदारी गरिरहेका छौं । यो खबरदारी सदैव जारी रहनेछ । हामीले उठाएका मागहरुप्रति नगरपालिका कति सकारात्मक रहन्छ भन्ने कुराले अबको कदम के हुन्छ भन्ने हो । नगरपालिकाले हाम्रो माग सकारात्मक लियो भने ठिकै छ । बेवास्ता गर्यो भने हामी सशक्त आन्दोलनमै उत्रन्छौं भनेर यसअघि नै ६ दलले निर्णय गरिसकेका छौं । सोही अनुसार हाम्रो कदम पनि अघि बढ्छ । बोर्डरल्यान्ड दैनिकबाट साभार

प्रतिकृया दिनुहोस्